बीपी कोइराला प्रतिष्ठानको जिम्मेवारी सम्हाल्न धरान पुगे डा. यादव
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यभार सम्हाल्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव सोमबार धरान पुगेका छन्।
मन्त्रिपरिषद्ले अर्को निर्णय नहुँदासम्मका लागि प्रमुख विशेषज्ञ डा. यादवलाई प्रतिष्ठानमा पठाउन स्वास्थ्य मन्त्रालयले सिफारिश गरेको थियो। मन्त्रालयको सिफारिश अनुसार तत्काल उपकुलपति डा. ज्ञानेन्द्र गिरीको ठाउँमा कार्यभार सम्हाल्ने गरी डा. यादव धरान पुगेका हुन्। यद्यपि उनले हाजिर गरेका छैनन्। “मलाई बीपी प्रतिष्ठानको अस्पताल र एकेडेमीको आर्थिक तथा प्रशासनिक क्षेत्र हेर्न मन्त्रिपरिषद्ले जिम्मेवारी दिएको छ,” डा. यादवले भने।
धरान पुगे लगत्तै डा. यादवले केही फ्याकल्टीका डीन र प्रतिष्ठान शुद्धीकरण अभियानमा लागेका कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरेको बताए। उनले मंगलबार अझै अन्य फ्याकल्टी र डिपार्टमेन्ट हेडसँग छलफल गर्ने बताए।
धरान पुगेर स्वास्थ्य मन्त्रालय र मन्त्रिपरिषद्ले दिएको पत्र देखाउँदा उपकुलपति गिरीले अप्ठ्यारो मानेपछि हाजिर नगरेको उनको भनाइ छ। “भोलि फ्याकल्टी र डिपार्टमेन्ट हेडसँग छलफल गरेपछि आफैंले तोक लगाएर पनि हाजिर गर्न सक्छु,” उनले भने, “यत्रो ठूलो संस्था बिग्रिंदा जनतालाई नै सास्ती हुन्छ, म यहाँको समस्यालाई निकास दिन आएको हुँ।”
१ असारदेखि उपकुलपति डा. गिरी र उनको टीममाथि अनियमितता र भ्रष्टाचारको आरोप लगाउँदै स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा छन्। आधा दर्जन छानबिन समितिले प्रतिष्ठानमा अनियमितता भएको निष्कर्ष निकाले पनि कारबाही भएको छैन।
पछिल्लो पटक स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयको टोली धरान पुगेर स्थलगत अध्ययन गरेको थियो। स्वास्थ्य मन्त्री नेतृत्वको समितिले पनि डा. गिरी अनियमिततामा मुछिएको भन्दै कारबाही गर्न सिफारिश गरेको थियो।
डा. यादवसँगै लेखा हेर्नका लागि सहसचिव चिरञ्जीवी अधिकारी पनि धरान पुगेका छन्।