काठमाडौंसँगै १२ जिल्लामा थपिए सयभन्दा बढी सङ्क्रमित
काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। सोमबार काठमाडौंसँगै १२ जिल्लामा एक सयभन्दा बढी सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा चार हजार ६७६ जनामा कोरोना देखिएको छ। योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ८४२ पुगेको छ।
सोमबार काठमाडौंमा तीन हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना देखिएको छ। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा ३८ हजार ५८१, ललितपुरमा नौ हजार ५१ र भक्तपुरमा पाँच हजार २१० पुगेको छ।
काठमाडौं बाहिर प्रदेश १ को झापामा २०५, मोरङमा १४६ र सुनसरीमा १९७ जनामा सङ्क्रमण पुष्टि भएको छ। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशका जिल्लामा भने सङ्क्रमितको सङ्ख्या सयभन्दा कम नै छ।
त्यस्तै, बागमतीका काभ्रेमा १०२, चितवनमा ७९० र मकवानपुरमा १२१ जनामा कोरोना देखिएको छ। गण्डकीका कास्कीमा ३४३ र नवलपरासी (पूर्व) मा १३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लुम्बिनीको रुपन्देहीमा १७१ जनामा कोरोना देखिएको छ भने कर्णाली र सुदूरपश्चिमका जिल्लामा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या एक सयभन्दा कम छ।
प्रदेश अनुसार पनि सबैभन्दा बढी बागमती प्रदेशमा पाँच हजार ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि गण्डकीमा ७४६, प्रदेश १ मा ६२७, लुम्बिनीमा ३८३, मधेशमा २४२, सुदूरपश्चिममा १४४ र कर्णालीमा १४ जनामा कोरोना देखिएको छ।