नेपालबाट १४ टन सहयोग सामग्री बोकेर चार्टर्ड जहाज काबुल प्रस्थान
नेपालबाट १४ टन सहयोग सामग्री बोकेर हिमालयन एयरलाइन्सको जहाज अफगानिस्तान प्रस्थान गरेको छ।
आइतबार बिहान परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा नेपाली टोली सहयोग बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काबुल प्रस्थान गरेको हो। परराष्ट्र मन्त्री नारायण खड्काले नेपाली टोलीलाई बिदाइ गरेका छन्।
नेपालले औषधि, लत्ताकपडा र भाँडाकुँडा लगायत सामग्री पठाएको हो। नेपाली टोली काबुल प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेर मन्त्री खड्काले मानवीय सहायता पठाइएको बताए।
नेपाली टोलीले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सहयाेग सामग्री हस्तान्तरण गर्नेछ। नेपाली टोली सहयोग सामग्री हस्तान्तरण गरेर आजै स्वदेश फर्किनेछ।
नेपालले पहिलो पटक चार्टर्ड फ्लाइट मार्फत विदेशमा सहयोग पठाएको हो। “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौं, तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ,” मन्त्री खड्काले भने।
संयुक्त राष्ट्र संघ, महावाणिज्यदूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगम लगायत संघसंस्थाले सहयोग उपलब्ध गराएका हुन्। हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको मन्त्री खड्काले बताए।
अमेरिकी सेना फिर्ता गएपछि राष्ट्रपति असरफ गनी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि विद्रोही तालिबानले सत्ता कब्जा लिएको छ। तालिबान सरकारलाई अन्तर्राष्ट्रिय जगत्ले मान्यता दिएको छैन।
जसले गर्दा अन्तर्राष्ट्रिय सहयोग रोकिंदा अफानिस्तानमा आर्थिक सङ्कट आएको छ। कैयौं अफगान नागरिकले खाद्य सङ्कट झेलिरहेका छन्।