एमाले मकवानपुरको नेतृत्व चयनमा विवाद
नेकपा (एमाले) मकवानपुरको नेतृत्व चयनमा विवाद भएको छ। जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरिए पनि अध्यक्षका प्रत्यासीले विरोध जनाएका छन्।
२३ पुसमा शुरू भएको जिल्ला अधिवेशनमा सहमतिका लागि भन्दै बन्दसत्र स्थगित गरिएको थियो। आज बिहान एकालाल श्रेष्ठको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको छ।
निर्वाचनमण्डलका अध्यक्ष एवं जिल्ला सहइन्चार्ज रामेश्वर रानाले जिल्ला कमिटीको नामावली घोषणा गरेका हुन्। जसअनुसार, उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट चयन भएका छन्।
जिल्ला कमिटीको नामावली सार्वजनिक भएपछि अध्यक्षका अर्का उम्मेदवार बद्री लम्सालले विरोध जनाएका हुन्। “सार्वजनिक गरिएको जस्तो सहमति भएकै छैन,” लम्सालले भने, “यो लोकतान्त्रिक र विधि संगत छैन।”
एमालेमा माधव नेपाल हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमन भनेका र एमाले विभाजनपछि १० सहमति भएसँगै एमालेमै रहेका नेताहरूलाई नेतृत्वबाट वञ्चित गरिएको उनको आरोप छ।
यसअघि उपाध्यक्ष रहेका लम्सालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए। तर, चुनावी प्रक्रिया पूरा नहुँदै श्रेष्ठको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको छ। अध्यक्ष चयन भएका श्रेष्ठ पूर्व मुख्यमन्त्री डोरमणि पौडेल निकटका नेता हुन्।