पाल्पामा बस दुर्घटना, सात जनाको मृत्यु
पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
आइतबार बिहान पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बस दुर्घटना भएको हो। बुटबलबाट रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको डीएसपी त्वातीले बताए। घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाएको छ। स्थानीय बासिन्दा र प्रहरीले घाइतेको उद्धार गरेका थिए।
स्थानीय बासिन्दाका अनुसार, बसमा ३५ जना सवार थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।