माओवादी महाधिवेशन: आज राति उम्मेदवारी दर्ता, भोलि बिहान मतदान
नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ।
माओवादीको निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार, केही बेरअघि मतदाता नामावली सार्वजनिक गरिएको छ। महाधिवेशनमा एक हजार ७४२ मतदाता छन्। आजै मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जनाएका छन्।
निर्वाचन कार्यक्रम अनुसार, आज राति ८ देखि १०ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। त्यसपछि राति नै उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ।
आइतबार बिहान ८ः३० बजेसम्म उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकिएको छ भने ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गरिने भएको छ। त्यसपछि बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ।
आइतबार बिहान ११ः१५ बजे उम्मेदावरको अन्तिम नामावली प्रकाशन हुने र ११ः३० देखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका छ। मतदान सकिएलगत्तै मतगणना हुने निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठले जनाएका छन्।
शनिबार बिहान विधान पारित भएसँगै माओवादीले केन्द्रीय सदस्य चयनका लागि सहमतिको प्रयास गरेको थियो। सहमति नजुटेपछि निर्वाचनको प्रक्रिया शुरू गरेको हो।
माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। पदाधिकारीको टुङ्गो लगाउने जिम्मा केन्द्रीय समितिलाई दिइएको छ।