माओवादीको विधान पारित, अब २९९ केन्द्रीय सदस्य, पदाधिकारी अनिश्चित
नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशनको बन्दसत्रले विधान पारित गरेको छ। यससँगै माओवादीको पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढ्ने भएको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनले शनिबार विधान पारित गरेको हो। स्थायी समिति सदस्य देव गुरुङले विधानको मस्यौदा पेश गरेका थिए।
नेता गुरुङले पेश गरेको विधानको सस्यौदा केही संशोधन सहित पारित गरिएको छ। केन्द्रीय सदस्यको सङ्ख्या २९९ बनाउने तय भए पनि पदाधिकारीको सङ्ख्याका विषयमा भने यकिन गरिएको छैन। माओवादी केन्द्रीय समितिले पदाधिकारीको सङ्ख्या तय गर्नेछ।
अहिले पारित भएको विधान अनुसार, १५ पदाधिकारी हुने व्यवस्था थियो। जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष हुने व्यवस्था छ। पदाधिकारीको कति राख्ने भन्ने टुङ्गो लगाउने जिम्मा केन्द्रीय समितिलाई दिएपछि पदाधिकारी सङ्ख्या बढ्न सक्नेछ।
केन्द्रीय सदस्यमा पनि ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशीबाट चयन गरिने भएको छ। यससँगै १५ प्रतिशत केन्द्रीय सदस्य अध्यक्षले मनोनीत गर्न पाउनेछन्। यसअघि १० प्रतिशत मनोनीत गर्ने व्यवस्था थियो।
समावेशीबाट आउने ५० प्रतिशत केन्द्रीय सदस्यमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर छुट्याइएको छ। खुला र सबै क्लस्टरबाट गरी ३५ प्रतिशत महिला आउने व्यवस्था गरिएको छ।
विधान पारित भएसँगै प्रज्ञा भवनमै माओवादी स्थायी समितिको बैठक बसिरहेको छ। स्थायी समिति बैठकपछि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ।