रामचन्द्र पौडेल सहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल सहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
सभापति देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
नेता पौडेलसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।
नेता पौडेल कांग्रेसको १४औं महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बसेका थिए। त्यस्तै, सिंह र निधि सभापतिमा पराजित भएका थिए। दोस्रो चरणमा दुवै जनाले देउवालाई समर्थन गरेका थिए।
त्यस्तै, सिटौलाले सभापतिमा देउवालाई समर्थन गरेका थिए। गच्छदार र कोइराला उपसभापतिमा तथा महत महामन्त्रीमा पराजित भएका थिए। रेग्मी र विश्वकर्माले देउवालाई सघाउन उम्मेदवारी फिर्ता लिएका थिए।
कांग्रेसको विधान अनुसार, सभापति देउवाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव पौडेलले जनाएका छन्। देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मनोनीत गरेका हुन्।
कांग्रेसको महाधिवेशनबाट पदाधिकारी सहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। कांग्रेस विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ।