सहमति नभए चुनावमा जान्छौं : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति चयनमा सहमति नभए चुनावमा जाने बताएका छन्।
काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादीको आठौं राष्ट्रिय महाधिवेशनस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले सहमतिको प्रयास भइरहेको बताए। “नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ,” दाहालले भने।
माओवादीले विधानको मस्यौदा पारित गरेको छ। योसँगै केन्द्रीय समिति चयनको प्रक्रिया थालिएको हो। संशोधन भएको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय समिति बन्नेछ।
त्यसका लागि सहमति नभए चुनावमा जाने अध्यक्ष दाहालले बताएका हुन्। “सहमति गर्न ५ बजेसम्मको समय तोकिएको छ,” उनले भने, “सहमति बन्न सकेन भने चुनावमा जान्छौं।”
माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी छुट्याएको छ। जुन क्लस्टरमा सहमति भएन, त्यही क्लस्टरमा चुनाव हुने उनको भनाइ छ। अध्यक्ष दाहालले भने, “हामी जरुरी पर्दा जुनसुकै लोकतान्त्रिक प्रयास गर्छौं।”
माओवादीले केन्द्रीय सदस्य चयनका लागि सात वटा प्रदेश छुट्याएको छ। त्यस्तै, एउटा गैरभौगोलिक प्रदेश बनाएको छ। प्रदेशबाट नै केन्द्रीय सदस्य चयन गर्न भनेको छ।
महाधिवेशनको बन्दसत्रले विधान पारित गरे पनि पदाधिकारीको भने टुङ्गो लागेको छैन। कति पदाधिकारी राख्ने भन्ने जिम्मा केन्द्रीय समितिलाई दिएको छ। यसअघि केन्द्रीय समितिले १५ पदाधिकारी राख्ने निर्णय गरेको थियो।