भोलि केन्द्रीय समिति निर्वाचित हुन्छ : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार केन्द्रीय समिति निर्वाचित हुने बताएका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी माओवादीको आठौं महाधिवेशनको बन्दसत्रबाट बाहिरने क्रममा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पारित भएको र अब शनिबार केन्द्रीय समिति चयन हुने बताए। “राजनीतिक प्रतिवेदन जोडदार ढङ्गले पारित भयो। भोलि विधान पारित हुन्छ,” अध्यक्ष दाहालले भने, “भोलि नै केन्द्रीय समिति पनि निर्वाचित हुन्छ।”
यो महाधिवेशनबाट माओवादी नेतृत्व परिवर्तन भने नहुने दाहालको भनाइ थियो। नेतृत्व परिवर्तन सम्बन्धी प्रश्नको सङ्क्षिप्त जवाफ दिंदै दाहालले भने, “अहिले त कहाँ नेतृत्व परिवर्तन हुन्छ र!”
अध्यक्ष दाहालले प्रस्तुत गरेको ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। त्यसमा फरक मतलाई पनि समेटिएको उनले बताए।
दाहालले भने, “एउटा फरक मतलाई सम्मान गर्ने भनियो, अरू सबै समेटियो।” माओवादी नेता राम कार्की र हरिबोल गजुरेलले राखेको फरक मत समेटिएको हो। त्यस्तै, अर्का नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई भने सम्मान गर्ने तय भएको दाहालले बताए।
याेसँगै माओवादीले चुनावपछि विशेष महाधिवेशन गर्ने जनाएको छ। सङ्गठनको रूपान्तरण र विचार निर्माणका लागि विशेष महाधिवेशन गर्ने दाहालको भनाइ थियो। “सङ्गठनको रूपान्तरण र विचारलाई अझ विकसित गर्नका लागि चुनावपछि त एउटा अधिवेशन गर्नुपर्छ,” दाहालले भने, “वैचारिक विकासको शुरूआत भएको छ। चुनावपछि विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्छौं।”
माओवादीको आठौं महाधिवेशन ११ पुसमा शुरू भएको थियो। १५ पुसमा सम्पन्न हुने तय गरिएको भए पनि लम्बिएर शनिबारसम्म चल्ने भएको छ। महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ।