लेखनाथ न्यौपानेको फरक मत- माओवादी नेताले अकुत सम्पत्ति थोपरेको आरोप छ, छानबिन गरौं
नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले माओवादी नेताहरूको सम्पत्ति छानबिन गरी गलत गर्ने नेतालाई कारबाही गर्न प्रस्ताव गरेका छन्।
माओवादीको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले राखेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै नेता न्यौपानले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। उनले माओवादी आन्दोलन ओरालो लाग्नुको प्रमुख कारण अपारदर्शी आर्थिक जीवन भएको जिकिर गरेका छन्।
बिहीबार बन्दसत्रमा पेश गरिएको न्यौपानेको १० बुँदे दस्तावेजको छैटौं बुँदामा भनिएको छ, “हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्य कारण पार्टीका नेताहरूको अपारदर्शी आर्थिक जीवन हो। हामीमाथि भ्रष्टाचार, कमिशन, घूस मार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ। हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फुर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन।”
त्यसैले उनले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। “सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरूको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ? त्यस कारण हाम्रा नेताहरू, जनप्रतिनिधिहरू र लाभको पदमा गएका सदस्यहरूको सम्पत्ति छानबिन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं,” न्यौपानेले भनेका छन्, “आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरूलाई पार्टीबाट कारबाही गर्ने आँट गरौं। अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ।”
उनले माओवादीमा पनि ‘बा’ प्रवृत्ति देखिएको जिकिर गरेका छन्। दशौं नम्बर बुँदामा भनेका छन्, “हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईंका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिंदैन। सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र। यसको एउटा उदाहरण तपाईंले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र।”
नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्ने गरे झैं माओवादीमा पनि त्यो प्रवृत्ति देखिएको उनको भनाइ छ। “हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको बा प्रवृत्ति देखिएको छ,” न्यौपानेले प्रश्न गरेका छन्, “तपाईं आफै सशरीर उपस्थित भएको ठाउँमा तपाईंका लस्करै तस्वीर राख्न कसले निर्देशन दिएको हो? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरूको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसङ्गत हुन्थ्यो होला?”
माओवादीको आठौं महाधिवेशन प्रज्ञा भवनमा जारी छ। अध्यक्ष दाहालको प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल भएको छ। महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ।
लेखनाथ न्यौपानेले पेश गरेको फरक मत: