राष्ट्रिय सभाका तीन सदस्यका लागि एमालेका नौ उम्मेदवार सिफारिश
अर्को महीना हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेकपा (एमाले)का नौ जना उम्मेदवार सिफारिश गरिएका छन्।
एमाले कर्णाली प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि नौ जनाको नाम सिफारिश गर्ने निर्णय गरेको हो। कर्णाली प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका तीन जना सदस्यको पद रिक्त हुँदै छ।
त्यसका लागि एमालेले विभिन्न क्लस्टरमा उम्मेदवारको नाम पठाएको छ। महिलातर्फ जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामाको नाम पठाएको छ।
यसै गरी, अपाङ्ता भएका व्यक्तिबाट मुगुका रूपबहादुर बुढा, कालिकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम सिफारिश गरिएको छ। अन्य समूहबाट सुर्खेतका चूडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालिकोटका हिरे सुनारको नाम पठाएको छ।
निर्वाचन आयोगले १२ माघमा राष्ट्रिय सभाको निर्वाचन तय गरेको छ। त्यसका लागि १० पुसमा दल दर्ता भइसकेका छन्।