प्रदेश २ मा निधि पक्षका सबै उम्मेदवार पदाधिकारीमा पराजित
नेपाली कांग्रेस प्रदेश २ को कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षका सबै उम्मेदवार पदाधिकारीमा निर्वाचित भएका छन्।
शनिबार बिहान सम्पन्न मतगणना परिणाम अनुसार, पदाधिकारीमा विमलेन्द्र निधि पक्षका सबै उम्मेदवार पराजित भएका छन्। कांग्रेस प्रदेश अधिवेशनमा निधि र डा. शेखर कोइराला पक्ष मिलेर चुनाव लडेका थिए।
प्रदेश निर्वाचन समितिका अनुसार, उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव निर्वाचित भएका छन्। दुवै देउवा पक्षकै हुन्। सिंहले १०१९ र यादवले ८९५ मत पाएका छन्। उपसभापतिका प्रत्याशी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेका छन्।
त्यस्तै, महामन्त्रीमा पनि देउवा पक्षकै उपेन्द्रकुमार यादव र बृहस्पतिकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। यादवले ९५९ र श्रेष्ठ ७८८ मत पाएका छन्। महामन्त्रीका प्रत्याशी निधि पक्षका नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत पाएका छन्।
सहमहामन्त्रीमा खुलातर्फ जयनारायण यादव र परशुराम चौधरी निर्वाचित भएका छन्। यादवले ८७९ र चौधरीले ८२२ मत पाए। सहमहामन्त्रीका प्रत्याशी विनोदकुमार यादवले ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव निर्वाचित भएकी छन्। उनले ८८९ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी भीमादवी शर्माले ५३२ मत प्राप्त गरिन्।
शुक्रबार भएको सभापतिको मतगणनामा देउवा पक्षकै कृष्ण यादव निर्वाचित भएका थिए। उनले ९९६ र अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए। रामसरोज कांग्रेस प्रदेश संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार मन्त्री हुन्।
प्रदेश समितिका सदस्य पदको मतगणना भइरहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा १९५१ मतदातामध्ये १८८१ मत खसेको थियो।