२३ मंसीरदेखि किम्फ, यस्ता छन् आकर्षण
![२३ मंसीरदेखि किम्फ, यस्ता छन् आकर्षण](https://www.himalkhabar.com/uploads/posts/800X600/kimff1_1638703028.jpg)
२३ मंसीरदेखि काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९औं संस्करण शुरू हुने भएको छ।
२७ मंसीरसम्म चल्ने महोत्सवमा २८ देशका ६० भन्दा बढी चलचित्र देखाइने भएको हो।
चलचित्र विकास बोर्डको सभाकक्षमा हुने महोत्सवमा डकुमेन्ट्री, फिक्शन, प्रयोगात्मक, शर्ट फिल्म र एनिमेशन गरिएका चलचित्र प्रदर्शन हुनेछन्। महोत्सव दर्शकको प्रत्यक्ष उपस्थिति र अनलाइन गरी मिश्रित रूपमा सञ्चालन हुने बताइएको छ।
किम्फको यो संस्करण ‘जलवायु कर्म’ थिममा आधारित छ। जलवायु परिवर्तनको थिमले हिमाल, हिमाली जीवन र वातावरणमा परेको असरबारे सोच्न बाध्य बनाउने किम्फका अध्यक्ष वसन्त थापा बताउँछन्। “महोत्सवमा प्रस्तुत हुने चलचित्र र यसमा समावेश गरिएका विविध कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरणबारे सचेत पनि बनाउनेछन्,” उनी भन्छन्, “जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कम गर्न, यसका मुद्दालाई सम्बोधन गर्ने संवादमा संलग्न पनि गराउनेछ।”
![](https://www.himalkhabar.com/uploads/editor/images/kimff2.jpg)
महोत्सवका विशेषता
किम्फको उद्घाटन समारोहमा लद्दाखका पर्यावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको ‘की-नोट स्पीच’ रहनेछ। महोत्सवकी निर्देशक रम्यता लिम्बूका अनुसार, उद्घाटन समारोहमा अमेरिकी फिल्ममेकर काइल रुडिकद्वारा निर्देशित फिल्म ड्रिम माउन्टेन प्रर्दशन गरिनेछ।
महोत्सव निर्देशक लिम्बू किम्फको यो संस्करणमा किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताहरूका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकको छोटा फिल्मको प्रतियोगिता पनि हुने बताउँछिन्। “किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि ‘कल टू एक्शन’ मा टिकटक च्यालेन्ज प्रतियोगिता पनि गर्नेछ,” उनी भन्छिन्, “नेपाल पानोरोमामा स्थानीय प्रतिभाको रोमाञ्चक चलचित्र त छन् नै।”
किम्फको १९औं संस्करणमा स्वीट्जरल्यान्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीट्जरल्यान्डकी पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र निर्देशक तथा कलाकार अनुप बराल निर्णायक मण्डलमा छन्।
![](https://www.himalkhabar.com/uploads/editor/images/kimff.jpg)
किम्फले दिएको जानकारी अनुसार, छानिएका ४० चलचित्रमध्ये निर्णायक मण्डलले उत्कृष्ट तीन चलचित्र घोषणा गर्नेछ। त्यसै गरी, १३ वटा नेपाल पानोरोमाबाट उत्कृष्ट वृत्तचित्र र फिक्शन चलचित्र छनोट गर्नेछ।
महोत्सवमा अमेरिकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास पनि समावेश गरिएको छ। स्वीस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजेज टू द थर्ड वर्ल्डको नेपाली अनुवाद नेपालमा मेरो खोज यात्रा सार्वजनिक समेत गरिनेछ।
त्यस्तै, यस संस्करणमा ‘ब्रेकिङ कोड रेड–डिग्निटी विथ डेन्जर’ शीर्षकमा महीनावारीको अभ्यास र ‘कोपिङ विथ क्लाइमेट कर्म’ शीर्षकमा वातावरण सम्बन्धी छलफल पनि चलाइनेछ।
महोत्सव अन्तर्गत नै नेपाल पर्यटन बोर्डमा डब्लूडब्लूएफ नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटो प्रदर्शन समेत गरिने किम्फले जनाएको छ।
सबै दर्शकका लागि मनोरञ्जन दिलाउन फिल्म बाहेकका विधा पनि समेटिएको निर्देशक लिम्बूले जानकारी दिइन्।
![](https://www.himalkhabar.com/uploads/editor/images/kimff3.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/images/kimff4.jpg)