फ्लोर क्रस हुने सूचना पाएपछि प्रदेश सभा बैठक रोक्न कांग्रेसको माग
सांसदहरूले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले प्रदेश १ को प्रदेश सभा बैठक रोक्न माग गरेको छ।
आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तय गरिएको छ। त्यसका लागि आज मत विभाजन गर्ने कार्यसूची छ।
केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेको सूचना पाएपछि कांग्रेसले सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र लेखेर बैठक रोक्न माग गरेको हो। कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का केही सांसदले फ्लोर क्रस गर्ने तयारी गरेको जनाइएको छ।
९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ सदस्य छन्। नेकपा (माओवादी केन्द्र) त्यागेर एमाले प्रवेश गरेका टंक आङ्बो कारबाहीमा परेका थिए।
सभामुख भण्डारी बाहेक एमालेका ४१ र विपक्षी गठबन्धनका ५० सदस्य छन्। कांग्रेसका २१, माओवादीका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना सांसद छन्।
प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। तीन जना सांसदले फ्लोर क्रस गरेमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउन सक्नेछन्।
यसैबीच नेकपा (एमाले)ले पनि प्रदेश सभाको बैठक रोक्न माग गरेको छ। प्रदेश सभामा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र पठाएर बैठक रोक्न माग गरेका हुन्।
कांग्रेसले पनि बैठक रोक्न माग गरेको र आफ्नो पार्टीको पनि स्थानीय तहको अधिवेशन भएकाले प्रदेश सभा बैठक रोक्न माग गरेका छन्। एमालेले १४ कात्तिकपछि मात्रै प्रदेश सभा बैठक बोलाउन आग्रह गरेको छ।