महन्थ ठाकुर र राजेन्द्र महतोलाई हामीले खेदेको होइन : यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई आफूहरूले पार्टीबाट खेदेको नभएर आफैं छाडेर जान खोजेको बताएका छन्।
सोमबार निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गरेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले ठाकुर र महतो गलत बाटोमा लागेको बताए। “उहाँहरू (ठाकुर र महताे)लाई हामीले खेदेको होइन। उहाँहरू आफैं बाटो बिराउँदै कहाँ पुग्नुभएको छ,” यादवले भने।
जसपा आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गरिरहेको छ। अहिलेसम्म यादव पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यले हस्ताक्षर गरिसकेका छन्। जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ।
आफ्नो पक्षमा बहुमत पुगेको बताउँदै यादवले अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोका लागि पनि पार्टीमा ठाउँ भएको बताए। “उहाँहरूले प्रतिगमनकारीलाई साथ दिनुभयो। हाम्रो पार्टीको नीति, सिद्धान्त र विचार विपरीत काम गर्नुभयो,” यादवले भने, “आत्मालोचना गरेर आउनुभयो भने हामी स्वागत गर्छौं।”
एक अर्को प्रश्नको जवाफमा उनले चाँडै सरकारमा सहभागी हुने बताए। पार्टीको विवाद टुंगिने बितिक्कै सरकारमा सहभागी हुने तयारी रहेको उनको भनाइ थियो।