निर्वाचन आयोगले ठाकुर र यादव दुवैकाे कारबाहीलाई मान्यता दिएन
![निर्वाचन आयोगले ठाकुर र यादव दुवैकाे कारबाहीलाई मान्यता दिएन](https://www.himalkhabar.com/uploads/posts/800X600/thakur_yadhav_1623641064.png)
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले गरेको कारबाहीलाई अस्वीकार गरेको छ।
आयोगको आइतबार बसेको बैठकले दुवै पक्षले बहुमतको आधारमा भन्दै एकअर्कोलाई गरेको कारबाहीलाई अमान्य भनेको हो।
यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो। यादव पक्षले राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि कारबाही गरेको थियो।
त्यसैगरी महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन गरेको थियो।
आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५ को उपनियम ६ बमोजिम जसपा पदाधिकारीको विवरण साबिककै रहने निर्णय समेत गरेको छ।