भक्तपुरमा मेला, जात्रा र सांस्कृतिक कार्यमा रोक
कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि भक्तपुरमा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले कोरोनाभाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार जिल्लामा कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट बच्न र रोकथाम तथा नियन्त्रण गर्न भीडभाड हुने कुनै किसिमको कार्य गर्न गराउन रोक लगाएको र स्वीकृतिबिना यस्ता काम गरेको पाइए कारबाही गरिने उनले बताए।
भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने भएको छ। प्रजिअ भट्टराईले बिस्केट जात्रा रोक्नेबारे अहिले नै कुनै निर्णय नलिएको, तर धेरै भीडभाड हुने भएकाले रथ तान्न र लिङ्गो उठाउनेबारे भने वैकल्पिक उपाय खोजिने बताए।
प्रजिअ भट्टराईले भने, “कोरोनाको जोखिम ह्वात्तै बढेको छ, त्यसैले धेरै भीडभाड हुने जात्रा, पर्वलाई औपचारिकतामा जतिसक्दो कम मान्छेको उपस्थितिमा कसरी गर्न सकिन्छ भन्नेबारेमा स्थानीय तहसँग पनि छलफल गर्छौं, साथै गृह मन्त्रालयलाई के कसरी जात्रा पर्व गर्ने भन्नेबारेमा सोधेर पत्राचार गर्छौं। मन्त्रालयको निर्णयानुसार अगाडि बढ्छौं।”
बिस्केट जात्राका लागि हरेक वर्ष लिङ्गो तानेर ल्याउने परम्परा भए पनि यस वर्ष डोजर प्रयोग गरेर ल्याएको उनले बताए। भैरवनाथको रथ र लिङ्गो तान्ने कार्यमा पनि मेसिन वा अरू केही वैकल्पिक उपाय खोज्न सकिने उनको भनाइ छ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण गत वर्ष बिस्केट जात्रा औपचारिकतामा मात्रै सीमित गरिएको थियो। यस वर्ष भने बिस्केट जात्रा मनाउन तौमढीमा भैरवनाथको रथ बनाउने कार्य भइरहेको छ भने लिङ्गो ल्याएर राखिएको छ।
भक्तपुरमा मात्रै नभई मध्यपुरथिमि बालकुमारीमा २ वैशाखमा मनाइने खट तथा सिन्दूर जात्रा र बोडेमा मनाइने जिब्रो छेड्ने जात्राको समेत तयारी भइरहेको छ। प्रजिअ भट्टराईले भने, “कोरोनाभाइरसका कारण मान्छे नै रहने हो कि नरहने भन्ने अवस्था छ, यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भन्ने भएकाले जात्रालाई विकल्प खोज्नुपर्छ।”
उनले गृह मन्त्रालयको निर्देशन अनुसार कोभिड–१९ सङ्क्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा ल्याइएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई पुनःतयारी अवस्था राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको बताए। जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य युनिट तयारी अवस्थामा राख्न निर्देशन दिएको उनको भनाइ छ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमण बढ्दै गएमा परिस्थिति अनुसार बन्दाबन्दी गरेर अगाडि बढ्ने जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोकिने बताए। “बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थिति अनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रूपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ,” उनले भने।
उनले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेको बताए। “भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर बिस्तारै बढ्दै गएको छ,” उनले भने। कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा कमी आएको, तर सङ्क्रमण जोखिम कम नभएको उनको भनाइ छ।