हामी नै आधिकारिक नेकपा हौं, सूर्य चिन्ह हाम्रै हुन्छ: नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरूसँग रहनेमा कुनै दुविधा नरहेको बताएका छन्।
उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको समेत बताए। प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम पूर्ण रूपमा परास्त नगरुञ्जेल संघर्ष जारी राख्ने पनि बताए।
उनले संविधान अनुसार प्रतिनिधि सभा पुनर्स्थापित हुनेमा ढुक्क रहेको समेत बताए। मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा पुनर्स्थापित हुनेमा आफूहरू ढुक्क रहेको बताएका हुन्।
संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमति बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ।
सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैं विघटन हुने तर, बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनको जिकिर छ। संविधानको धारा ७६ को कुनैपनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको श्रेष्ठले दाबी गरे।
राजनीतिक परिस्थितिलाई मोड्न जबजको कुरा उठाइयो
कार्यक्रममा सोही समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको टिप्पणी गरे।
पार्टीको केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता समेत रहेका भट्टराईले ओली पक्षधरले पूर्वएमाले तथा जनताको बहुदलीय जनवादलाई एकीकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताए।
प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाइएको उनको भनाइ छ। पूर्वएमाले अथवा पूर्वमाओवादी भनि एक ठाउँमा आउँदा मुलुक २०६२/६३ को आन्दोलन अगाडिको अवस्थामा पुगि देश द्वन्द्वमा जाने उनले बताए।
भट्टराईले जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई परिमार्जन गर्दै समाजवादउन्मुख जनताको जनवादलाई कार्यक्रम बनाइएको स्मरण गर्दै यसमा नअल्मल्लिन आग्रह गरे।
यतिखेर देशमा प्रतिगमन र अग्रगमनबीचको अन्र्तविरोध भएको र प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा उभिएको भट्टराईको दाबी छ।