आगामी जेठमा राष्ट्रिय जनगणना, घरपरिवार संख्या ७० लाख नाघेको अनुमान
केन्द्रीय तथ्यांक विभागले आगामी २५ जेठदेखि ८ असारसम्म देशभरिका हरेक घरमा पुगेर राष्ट्रिय जनगणना गर्ने भएको छ। एक दशकपछि केन्द्रीय तथ्यांक विभागले गर्न लागेको जनगणनामा नेपालीको संख्या मात्रै नभइ आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने भएको छ।
राष्ट्रिय जनगणना २०७८ मा पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरूको विस्तृत तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। साथै कृषिमा प्रयोग भएका जग्गा, पशुपंक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरहरूको समेत तथ्यांक संकलन गरिने उनले बताए।
प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना शुरू हुन अब २११ दिन बाँकी रहँदा केन्द्रीय तथ्यांक विभाग र आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै श्रेष्ठले प्रारम्भिक अनुमानमा ३ करोड जनसंख्या र ७० लाख घरपरिवार भएको अनुमान गरिएको बताए।
कोरोना महामारीको अनिश्चितता रहिरहेको अवस्थामा पनि विभागले सहजतापूर्वक राष्ट्रिय जनगणना सम्पन्न गर्ने तयारी गरिरहेको विभागका महानिर्देशक श्रेष्ठले बताए। “कोरोना महामारीकै बीचमा पनि विभागले पाइलट जनगणना गरिसकेको छ, जसबाट केही अनुभव पनि प्राप्त भएको छ, हालकै अवस्थामा भए पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी काम सम्पन्न गर्न समस्या हुँदैन,” उनले भने ।
उनका अनुसार तयारी स्वरूप आगामी माघदेखि मास्टर ट्रेनरहरूका लागि तालिम दिन शुरू गरिन्छ। त्यसैगरी चैत महीनादेखि ४ महीनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिने श्रेष्ठले बताए। विगतमा गणकका रूपमा शिक्षकहरूलाई प्रयोग गरिएकामा यसपटक खुला विज्ञापनमार्फत् गणकहरू छनोट गरिनेछ।
तीन प्रकारका प्रश्नावली
आगामी राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि ३ वटा प्रश्नावली तयार पारिएको छ। पहिलो प्रश्नावलीमा मुल घरानाको तथ्यांक संकलन गरिन्छ। यसमा २५ वटा प्रश्न हुन्छन्।
त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरू हुनेछन्। यो २५ जेठदेखि तथ्यांक संकलनमा प्रयोग गरिनेछ। यसमा सामूहिक प्रश्नावलीको प्रयोग गरिनेछ।
मुख्य प्रश्नावलीमा प्रत्यक्षरूपमा परिवारले उपभोग गरेका सुविधा, खानेपानी बत्ती, मोबाइल, सवारी साधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ।
त्यसैगरी, सरकारी निकायमा दर्ता नभएकाहरूको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरूको पनि तथ्यांक संकलन गरिनेछ। जसमा कुन व्यक्तिले के काम गर्छन ? कस्तो काम गर्छन् ? उनीहरूले काम गर्ने ठाउँमाबाट कस्तो उत्पादन हुन्छ लगायतका तथ्यांकहरू संकलन गरिने श्रेष्ठले जानकारी दिए।
सामुदायिक प्रश्नावली वडास्तरमा हुनेछ। यसमा पनि हाउसहोल्डबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाइ गर्ने काम हुन्छ। जसबाट वडास्तरमा राजश्व संकलन स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ।
नेपालमा सबैभन्दा पहिले सन् १९६८ मा चन्द्र शमशेर प्रधानमन्त्री हुँदा जनगणना गरिएको थियो। उक्त जनगणनाले नेपालमा ५६ लाख मानिस रहेको देखाएको थियो। २०७८ सालको जनगणना संघीय संरचनामा आधारित रहेर गरिने भएकाले यसमा संख्या मात्रै नभए निश्चित भूगोल, समयमा बसोबास गर्ने मानिसहरूको संख्या र विशेषताको समेत तथ्यांक संकलन गरिन्छ।
खासगरी आगामी जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा जमिनको विवरण संकलन गरिनेछ। त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्याता, स्वास्थ्य सम्बन्धीलगायतका तथ्यांक संकलन गरिनेछ। साथै सेवा सुविधामाथिको व्यक्तिहरूको पहुँच कस्तो छ भन्ने विषयमा पनि स्पष्ट रूपमा विस्तृत विवरण संकलन गरिनेछ।
समग्रमा विभिन्न जाति, भाषा, लिंगलगायतको उमेर समूहका बारेमा सम्पूर्ण जानकारीका लागि जनगणना आवश्यक पर्छ। यसैका आधारमा सरकारले आफ्नो नीति तथा कार्यक्रम तय गर्छ। लक्षित समूहको हित र राहत कार्यक्रमका लागि पनि जनगणना आवश्यक हुन्छ।
जनगणनाको तथ्यांक विशेष गरी निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रतिनिधि र राष्ट्रिय सभाको सदस्य, समानुपातिक, केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा स्रोत परिचालन गर्न र योजना तर्जुमा गर्न पनि यो आवश्यक हुन्छ।
सामाजिक आर्थिक अवस्थाबारे जानकारी लिन पनि जनगणना आवश्यक हुन्छ। अर्को जनगणना नभएसम्मका लागि प्रक्षेपण गर्न कृषि गणनाका लागि पनि नमूना संकलन, लघु क्षेत्र अनुमान गर्न यो आवश्यक हुन्छ। सामाजिक, आर्थिक हिसाबमा पनि जनगणनाको तथ्यांक आवश्यक पर्छ।