अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
चिकित्सा शिक्षा सुधारको माग गर्दे अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरूले प्रदर्शन गरेका हुन्।
अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरू पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागी युवाहरूले बताए। २९ भदौबाट अनशन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। प्रदर्शनमा सहभागी युवाहरूले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन्।
केसीको श्वासप्रश्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पूरा गर्न आवाज उठ्न थालेका छन्। केसीको उपचारमा संलग्न चिकित्सकहरूले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताएपनि केसीले मानेका छैनन्। सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरूको आरोप छ।
माइतीघर मण्डलमा युवाहरूले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए। केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनशन शुरु गरेका हुन्। दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन्।