अनशनरत डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो, जबर्जस्ती गरेको भन्दै उपचार गर्न अस्वीकार
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ। डा. केसीका सहयोगी प्रितम सुवेदीले उनलाई प्रहरीले जबर्जस्ती जहाजमा राखेर जुम्लाबाट काठमाडौं ल्याएको बताएका छन्।
जुम्लाबाट काठमाडौं ल्याइएका डा. केसीको मंगलबार दिउँसोसम्म स्वास्थ्य जाँच हुनसकेको छैन। “उहाँले त्रिवि शिक्षण अस्पताल जाने चाहना राख्नुभएको थियो” सुवेदी भन्छन्, “तर, प्रहरीले ट्रमा सेन्टरमा ल्याएर राखेको छ।” डा. केसीलाई अहिले ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ। तर, उनले प्रहरीले जबर्जस्ती जुम्लाबाट उठाएर ट्रमा सेन्टर ल्याएको भन्दै उपचार गर्न अस्वीकार गरेको उनका सहयोगी सुवेदी बताउँछन्।
एम्बुलेन्समा त्रिवि शिक्षण अस्पताल जान हिँडेका उनलाई प्रहरीले जबरजस्ती ओरालेर ट्रमा सेन्टरभित्र पुर्याएको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा प्रहरीले केसीलाई चढाइएको स्लाइन तानेर उनी बसिरहेको ठाउँबाट उनका हातखुट्टा समातेर जबर्जस्ती निकालेको देखिन्छ। त्यसबेला उनले आफू ट्रमा सेन्टर नभई त्रिवि शिक्षण अस्पताल जान चाहेको बताइरहेका थिए।
यसअघि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको थियो। तर, डा. केसीले आफू अनशन बसिरहेको जुम्लाको चन्दननाथ नगरपालिकाबाट प्रहरीले जबरजस्ती उठाएर प्रतिष्ठानमा ल्याएपछि उपचार गर्न अस्वीकार गर्दै आइरहेका थिए।
यसैबीच, प्रतिष्ठानका चिकित्सकहरूले सोमबार विज्ञप्ति ज्ञारी गर्दै अनशनरत डा. केसीले उपचार गर्न नमानेपछि सहज ठाउँमा उपचारका लागि लैजान सुझाव दिएका थिए। ३ असोजदेखि प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएका डा. केसीको अस्पताल ल्याउनुपूर्व दिनमा तीन पटक सामान्य स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि सबै खालको स्वास्थ्य जाँच लिन नमानेकाले प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा लगायत कुनै पनि जाँच गर्न नसकिएको भन्दै चिकित्सकहरूले विज्ञप्ति निकालेका थिए।
प्रतिष्ठानका चिकित्सकहरूले डा. केसीले उपचारका गर्न नमानेका कारण रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहने जस्ता सम्भावित स्वास्थ्य जटिलता निम्तिन सक्ने बताएका थिए।
डा. केसीले २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित् बाबिरा मष्ट मन्दिरमा आफ्नो १९औं शुरू गरेका थिए। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरू संचालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गर्नुपर्ने, प्रदेश-२ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्नेसहितका ६ बुँदे माग राखेर अनशन शुरू गरेका थिए।
अनशनरत उनलाई प्रहरीले ३ असोजमा चन्दननाथबाट जबर्जस्ती उठाएर कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको डा. केसीका सहयाेगी सुवेदीले बताए।