बाह्रबिसे पहिरो : ११ जनाको शव भेटियो, २० अझै बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ। पहिरोमा पुरिएकामध्ये २० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीय जुनुमाया बिक, २४ वर्षीय सुकलाल बिक, ८ वर्षीय सन्देश बिक, ६० वर्षीया सर्किनी नेवारको शव निकालिएको छ।
यस्तै, ६५ वर्षीय धनलाल नेवार, ९८ वर्षीय ट्याक्सी शेर्पा, ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, ५ वर्षीया सरस्वती बिक र २५ वर्षीय करन बहादुर श्रेष्ठको पनि शव निकालिएको डीएसपी सापकोटाले हिमालखबरलाई बताए।
पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरू खटिएका छन्। पहिरोमा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा लगिएको छ।