बँदेल मार्न थापेको पासोमा परेर दुई छोराको मृत्यु, बाबु घाइते
बँदेललाई मार्न थापेको धरापमा परेर दाङमा दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी दिलबहादुर रावतका छोरा १४ वर्षका वीरबहादुर रावत र १० वर्षका तेजबहादुर रावतको मृत्यु भएको हो। उनीहरु दुवैजना दाजुभाइ हुन्।
बँदेलले मकै खाएर नष्ट गरेपछि दिलबहादुर रावतले मकै बारीमा करेन्ट लगाएर पासो थापेका थिए। आफ्ना दुई छोरालाई करेन्ट लागेपछि बारीमा गएका दिलबहादुरलाई पनि करेन्ट लागेको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।
डिभिजन वन कार्यालय दाङका अनुसार अहिले जिल्लाका तुल्सीपुर, शान्तिनगर र बबई क्षेत्रमा जंगली बदेलको प्रकोप बढेको छ। बँदेलले बाली नाली खाएर किसानलाई दु:ख दिएका छन्।
डिभिजन वन प्रमुख दिपक ज्ञवाली जंगलमा खानेकुराको अभाव भएपछि बँदेल खेतबारीमा अन्नबाली खान पल्केको बताउँछन्।
“मुख्य कारण त संख्या वृद्धि नै हो। पहिला, मानिसहरुसँग हतियार थिए, मानिसले लुकिछिपी बदेलको शिकार गर्थेे। अहिले हतियार जति सबै तानिए, मार्न नपाउँदा संख्या बढ्यो,” ज्ञवाली भन्छन् “वन जंगलमा चरिचरण बन्द भयो, त्यसले झाडी र काँडा बढे, खानेकुरा पाइन छाडे, त्यसैले बँदेल अन्नबालीतिर पल्के।”