रिपोर्ट शनिबार, साउन १०, २०७७

थारू पर्व गुरही आयो, तर लेहेंगा बिकेन

हिमालखबर

थारू पर्व गुरही आयो, तर लेहेंगा बिकेन
तस्वीरहरुः उन्नती चौधरी

थारू समुदायका प्रमुख चाडहरू ‘गुरही’ (नागपञ्चमी) देखि माघसम्म पर्छन्। यी चाडमा धेरैजसो थारू महिला र पुरुषले परम्परागत जातीय पोशाक लगाउँछन्। तर, यो वर्ष गुरही आइसक्दा पनि परम्परागत पोशाकको माग बढेको छैन।

– उन्नती चौधरी

गुरही १० साउनमा छ। अब चाडपर्वले छोप्न थाल्छ। तर, थारू लेहेंगा किन्न आउनेहरू ज्यादै थोरै भएको कैलालीको कैलारी गाउँपालिका–१ की दुर्गा दहित बताउँछिन्।

उनले थारू लेहेंगा र चोलिया सिलाउन थालेको एक दशक भयो। उनले अरू चार जनालाई रोजगारी दिएकी छिन्। विभिन्न डिजाइनका लेहेंगासँगै धोतीको पनि माग बढेपछि २०७५ सालदेखि पुरुषले लाउने धोती पनि सिलाउन थालिन्।

उनको पसलमा यो वर्ष माग एकदम कम छ। उनका अनुसार एउटा लेहेंगाको रु.२५०० देखि ५००० सम्म पर्छ। चोलिया रु.५०० देखि १००० सम्म पर्छ। पुरुषको धोतीलाई रु.१००० पर्छ।


थारू पोशाक सिलाउन धेरै मिहिनेत र समय लाग्ने भएकाले महङ्गो हुने उनी बताउँछिन्। उनी कामदारको तलब, घरभाडा र आफ्नो मिहिनेतको पैसा छुट्याएर मासिक रु.१२ हजारदेखि १५ हजार आम्दानी गर्छिन्। सिलाई व्यवसायबाटै आफ्नो खुट्टामा उभिन पाएकोमा उनी खुशी छिन्। उनका अनुसार थारू पोशाकमा पछिल्लो समय गैर थारूको पनि आकर्षण बढेको छ।

धनगढी–१ शिवनगरमा पसल सञ्चालन गर्ने सावित्री चौधरी तीन वर्षदेखि थारू लेहेंगा र चोलिया सिलाउँछिन्। उनी पनि यो वर्ष माग न्यून भएको बताउँछिन्। महामारीका कारण काममा जान नपाएको कारण किनमेल घटेको हुनसक्ने उनको अनुमान छ। “पोहोर त करीब १५ सेट लेहेंगा बेचेकी थिएँ, दशैंमा मात्रै २५ देखि ३० सेट लेहेंगा बिक्री हुन्छ। यो वर्षको बजार डामाडोल छ”, उनी भन्छिन्।


उनी महिलाका अन्य लुगा पनि सिलाउँछिन्। चौधरी भन्छिन्, “पहिला आमाले लेहेंगा सिलाउनुहुन्थ्यो, आमाको सीपलाई मैले पनि नक्कल गरेकी हुँ।”

धनगढी–७ देवहरियास्थित ‘लेहेंगा सिलाई सेन्टर’ की सीता चौधरीलाई चाडपर्व शुरू भएपछि यसअघि भ्याईनभ्याई हुन्थ्यो। यो वर्ष पसल सुनसान छ। महामारीअघि दैनिक २० वटासम्म लेहेंगा सिलाउने गरेको उनी बताउँछिन्।

केही वर्षदेखि गैर थारू महिलाहरूले समेत फेसनको रूपमा थारू लेहेंगा लगाउन थालेपछि माग उच्च भएको हो। अहिले हरेक थारू परिवारमा प्रत्येक सदस्यका लागि एक जोर सांस्कृतिक पोशाक हुने थारू अगुवा दुर्गा कुश्मी बताउँछिन्।

केही वर्षअघि थारू महिलाले आधुनिक पोशाक मात्र लगाउँदा थारू लेहेंगा संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको थियो। तर अहिले यो पोशाक लगाउने चलन बढ्दो छ।

थारू बुद्धिजीवी प्रभात चौधरीका अनुसार पश्चिमा थारूले लगाउँदै आएको लेहेंगा आदिवासीले लगाउने पोशाकको विश्व सूचीकरणमा परेको छ। चार वर्ष अगाडि आदिवासी जनजातिहरूको पहिरनमध्ये पश्चिमा थारूहरूले लगाउने लेहेंगा सबैभन्दा सुन्दर पोशाकका रूपमा सूचीकरणमा परेको उनको भनाइ छ।


लेहेंगा सिलाउन विभिन्न खण्ड बनाएर कपडा जोड्नुपर्छ। लेहेंगा सिलाई सेन्टरकी सीता चौधरीका अनुसार लेहेंगाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेहेंगा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भाग हुन्छन्। त्यसैले यो बनाउन जटिल छ। यसलाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पत्थर लगायत टाँस्नुपर्छ।

प्रतिकृया दिनुहोस