समाचार मंगलबार, असार ३०, २०७७

विप्लवका पूर्वी क्षेत्रका सैन्य कमाण्ड इन्चार्ज पक्राउ

हिमालखबर

विप्लवका पूर्वी क्षेत्रका सैन्य कमाण्ड इन्चार्ज पक्राउ
पक्राउ परेका बोहरा र उनी बस्ने घरबाट प्रहरीले फेला पारेको हतियारहरू।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी कमाण्डका सैन्य इन्चार्जलाई ३० असारमा प्रहरीले मोरङ उर्लाबारीबाट पक्राउ गरेको छ ।

कालिकोटको फेनेली घर भएर उर्लाबारीमा बस्दै आएका नन्दबहादुर बोहरा (४०) लाई पेस्तोल, गोली, बम तथा डेटोनेटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जोखिम र नन्दकिशोर उपनाम भएका बोहरा विभिन्न ७ वटा बम विस्फोटका घटनाका फरार अभियुक्त भएको प्रहरीको भनाइ छ ।

मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार, गत १३ जेठमा मोरङ सुन्दरहरैचा ७ को बिजुलीको पोलमा प्रेसर कुकर बम राखेको, मोरङ पथरी शनिश्चरे १ को पानीटंकी छेउमा गत ११ चैतमा बम राखेको, गत ५ माघमा मोरङ मिक्लाजुङ्ग १ साकेला थानमा ३ वटा स्काभेटरमा बम विस्फोट गराएको घटनामा बोहरा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

यस्तै बोहराले गत १० माघमा मोरङ केरावारी गाउँपालिकाको कार्यालयमा र १२ माघमा केरावारी २ मा एनसेलको टावरमा बम विस्फोटन गराएको, गत २३ भदौमा झापा बिर्तामोड २ चारपाने चाेकको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा प्रेसर कुकर बम विस्फोट गराएको प्रहरीको दाबी छ ।

गत वर्ष २० भदौमा सुनसरी इटहरी ९ स्थित सुष्मा गोदावरी स्कूलको कम्पाउण्ड र धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा प्रेसर कुकर बम विस्फोट गराएको घटनामा पनि उनलाई आरोपी बनाइएको छ । प्रदेश १ का पहाडी जिल्ला भोजपुर र संखुवासभामा बोहराको हातहतियार मुद्दा रहेको प्रहरीले बताएको छ ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस