नेपालमै उत्पादन हुने औषधि बाहिरबाट आयात नगर्न माग गर्दै आन्दोलन
नेपालमा उत्पादन हुने औषधिहरू विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । गएको २२ असारमा सेनिटाइजर दर्ताको म्याद तीन महीना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो।
संघका महासचिव विप्लव अधिकारीले देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने बताए । बन्दाबन्दीको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरूले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्तरहीन र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे।
मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ।
मंगलबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिएको छ । आफ्ना मागहरू पूरा नभए आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ।