समाचार विहीबार, असार २५, २०७७

ललितपुरको महालक्ष्मी नगरपालिकामा नौ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ

हिमालखबर

ललितपुरको महालक्ष्मी नगरपालिकामा नौ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ

ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोनाभाइरसको संक्रमण देखिएपछि आजदेखि आवतजावतमा कडाइ गरिएको छ।

असार दोस्रो सातायता भएको परीक्षणबाट नगरपालिकाको वडा नम्बर ८ मा ७ जना र वडा नम्बर ६ मा २ जना संक्रमित भेटिएपछि ७, ८ र ९ वडामा आवतजावत कडा पारिएको हो । संक्रमण देखिएकामध्ये दुई जना स्वास्थ्यकर्मी हुन् भने सात जना स्थानीय हुन्। उनीहरुलाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ।

संक्रमितको संख्या बढेपछि आजदेखि लागू हुने गरी उक्त तीन वटा वडामा औषधि र खाद्यान्न पसल बाहेकका अन्य सेवा बन्द गर्ने र आत्यावश्यक बाहेक काममा हिंडडुल गर्न नपाइने निर्णय गरेको नगरप्रमुख रामेश्वर श्रेष्ठले हिमालखबरसँग बताए। "खाद्यान्न पसल दिनमा एक पटक बिहान ७ बजेदेखि दुई घण्टासम्म खोल्ने व्यवस्था मिलाइएको छ, औषधि पसल भने चौबीसै घण्टा खुल्नेछन्", उनले भने।

भाइरसको संक्रमण थप नफैलियोस् भनेर केही समयका लागि बन्दाबन्दी कडा पार्ने निर्णय गरिएको उनले बताए।

नगरप्रमुख श्रेष्ठका अनुसार, संक्रमित भेटिएका वडाहरुमा अहिले कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । संक्रमितको परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखेर निगरानी गरिरहेको उनले बताए।

प्रतिकृया दिनुहोस