नेकपाको विवाद नजिकबाट नियालेका छौं, भूमिका खोज्न संस्कारले दिंदैन: नेपाली कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई नजिकबाट नियालिरहे पनि आफ्नो संस्कारले सरकारमा भूमिका खोज्न नमिल्ने प्रतिक्रिया दिएको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकका बारेमा जानकारी गराउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताएका हुन्।
‘‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने, प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौं । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिंदैन । त्यो कुरामा अहिले छैनौं,’’ प्रवक्ता शर्माले भने।
पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसंगमा प्रवक्ता शर्माले त्यो स्वाभाविक भएको बताए । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गरेको र विधेयकहरूको विषयमा आफ्नो धारणा राखेको जानकारी उनले गराए।
‘‘प्रधानमन्त्रीले भेटौं भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले 'तपाईंलाई हटाउने जस्तो कुरा आइरहेको छ, हाम्रो तपाईंसँग एक ढंगको असहमति छ । तपाईं विवादमा हुनुहुन्छ। अनेक विधेयक ल्याएर तपाईंले अनेक उधुम मच्चाउनुभएको थियो। त्यसैले म तपाईंलाई भेट्न आउँदिन' भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन्," शर्माले भने "तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो।’’
पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्य समितिको बैठकमा महाधिवेशनको कार्यतालिकालाई अन्तिम रुप दिने, नेकपाभित्रको विवाद र सभापति देउवासँग प्रधानमन्त्रीको भेटघाट लगायतका विषयमा छफफल भइरहेको छ।
सानेपामा नेविसंघको विरोध प्रदर्शन
पार्टी कार्यालयभित्र कार्य समितिको बैठक बसिरहँदा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ।
नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टीभित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्न माग गरेका हुन्।
विद्यार्थी नेताहरुले विभिन्न नारा लेखिएका प्लाकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले पार्टी भित्रको भ्रष्टाचार छानबिन गर्न र भ्रष्ट नेतालाई कारबाही गर्न माग गर्दै नारा समेत लगाए।
नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसंघका विद्यार्थी नेताहरु सानेपा पुगेका थिए।