आगामी मौद्रिक नीतिले अर्थतन्त्रमा परेको समस्यालाई सम्बोधन गर्छः गभर्नर अधिकारीे
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको समस्यालाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने बताएका छन् । गभर्नर अधिकारीले बजेटले नसमेटेका विषयलाई समेत सम्बोधन गर्ने गरी नीति सार्वजनिक गरिने बताए।
आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको माग सम्बोधन नगरेको भनी आलोचना भइरहेका बेला गभर्नर अधिकारीले मौद्रिक नीतिले व्यवसायका अप्ठ्याराहरुलाई सम्बोधन गर्ने बताएका हुन् । उनले बजेट घोषणायताका परिस्थितिलाई समेत मौद्रिक नीतिमा सम्बोधन गरिने बताए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मौद्रिक नीतिका लागि राष्ट्र ब्यांकलाई आइतबार दिएको सुझाव प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले अहिलेको अप्ठ्यारो परिस्थतिलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने बाचा गरे । “राष्ट्र ब्यांकले चार वटा कार्यदल बनाएर अध्ययन गरिरहेको छ, कार्यदलको सुझावका आधारमा बजेटमा नसमेटिएका अथवा बजेटदेखि हालसम्मको भ्याकुमको अवस्थालाई समेत समेटेर मौद्रिक नीति ल्याउने छौं,” उनले भने।
सेजनले मौद्रिक नीतिसँग सरोकार राख्ने निजी क्षेत्र, ब्यांक तथा वित्तीय संस्था, पुँजी बजार, पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार, विदेशी लगानी, आयात निर्यात, अटोमोबाइल, रियलइस्टेटलगायत क्षेत्रसँग अन्तरक्रिया गरेर मौद्रिक नीतिका लागि सुझाव प्रतिवेदन तयार पारेको थियो । सेजन अध्यक्ष भीमप्रसाद गौतमले उक्त सुझाव प्रतिवेदन गभर्नर अधिकारीलाई हस्तान्तरण गरेका थिए । गभर्नर अधिकारीले सेजनले दिएका सुझावलाई पनि आगामी मौद्रिक नीतिमा समेटिने बताए।