टिप्पणी मंगलबार, जेठ २७, २०७७

कौसी र करेसाबारीमा बीउदेखि बिरुवासम्म

हिमालखबर

कौसी र करेसाबारीमा बीउदेखि बिरुवासम्म
तस्वीरहरुः मधु राई

आफूलाई दैनिक चाहिने तरकारीको ५० प्रतिशत खाँचो टार्न पनि मेरो कृषिकर्म फलदायी बन्दैछ । शुरुमा सबै किसिमको बीउ किन्ने गरे पनि केही वर्षयता खुर्सानी, फर्सी, गोलभेंडा र लसुनजस्ता तरकारीजन्य बालीको बीउ आफैँ जोहो गर्छु।

मधु राई

बन्दाबन्दीपछि सबैको जस्तै मेरो दैनिकी पनि फेरिएको छ। पहिला कौसी र करेसाबारीका लागि समय दिन हम्मे पर्थ्यो। अहिले दैनिक तीनदेखि चार घन्टा कौसी र करेसाबारीका बोट बिरुवा गोडमेल गरेर बित्छ । कस्तो मौसममा कुन बीउ छर्ने र कस्तो बिरुवा रोप्ने भन्ने सोच्न थालेको छु।

झन्डै एकदशकको कृषिकर्मले मलाई परम्परागत ज्ञानसँगै आधुनिक विधि र प्रविधि मिसमास गरी बीउको जोहो गर्न तथा बिरुवा उमार्न अभिप्रेरित गर्दै आएको छ। त्यति मात्र होइन, आफूलाई दैनिक चाहिने तरकारीको ५० प्रतिशत खाँचो टार्न पनि मेरो कृषिकर्म फलदायी बन्दैछ। शुरुमा सबै किसिमको बीउ किन्ने गरे पनि केही वर्षयता खुर्सानी, फर्सी, गोलभेंडा र लसुनजस्ता तरकारीजन्य बालीको बीउ आफैं जोहो गर्छु।

बाहिरबाट किनेर ल्याएका कतिपय बीउ नउम्रिने तथा उम्रे पनि स्वस्थ नहुने भएकोले बीउबाट बिरुवा उमार्ने सीप समेत सिक्दैछु। विशेष गरी बिरुवा उमार्न चाहिने प्लाष्टिकको भाँडो अथवा चौडा मुख र कम गहिराइ भएको माटो र प्लाष्टिकका भाँडा उत्तम मानिन्छ।

कतिपय यस्ता भाँडा वा गमला पुरानो कपडा र बोराबाट बनाउन सकिन्छ। बन्दाबन्दीको सदुपयोग गर्दै हाल बालुवा र सिमेन्टबाट यस्ता गमला आफै बनाएको छु। त्यसमा बिरुवा उमार्न सहज भएको छ ।

यस्तै बीउबिजन र उपयुक्त गमला मात्र भएर हुँदैन स्वस्थ बिरुवा उत्पादन गर्न उपयुक्त मलमाटो चाहिन्छ, जसको जोहो गर्न नसक्दा बीउ राम्ररी उम्रदैन र उम्रि हाले पनि स्वस्थ हुँदैन । त्यसो त शहरबजारमै पनि अचेल गड्यौले मल वा जैविक मल पाइन्छ।

त्यो सम्भव नभए गाइवस्तुको पुरानो गोबर वा खसीबाख्राको पुरानो बक्र्यौला घाममा सुकाएर मसिनो धूलो बनाउनु पर्छ। यसरी तयार पारेको मलको धूलो एकभाग र सामान्य माटो (मसिनो पारेको) तीनभाग मिसाएर तयार पारेको मलमाटोमा बीउ उम्रन्छ। यसरी उम्रेको बिरुवालाई स्वस्थ राख्न बेलाबेला एक लिटर पानीमा एक चम्चा (ठूलो) सिधे नुन हालेको पानी छर्कनुपर्छ।

यसरी आफूले उपयुक्त विधि अपनाइ उमारेको मौसम अनुसारको बिरुवाको तस्वीर सामाजिक सञ्जालमा राखी छिमेकीहरुलाई बाँड्दै आएकी छु। यसपालि झन्डै १०० वटा फर्सीको बिरुवामध्ये केही छिमेकीलाई पनि बाडें। बचेका सबै बिरुवा करेसाबारीमा रोपेकी छु।

याे पनि हेर्नुहाेस्– भान्साबाटै मल

तीन किसिमको खुर्सानी जस्तै आकासे, भुइँतिर फल्ने र कालो खुर्सानीको बिरुवा उमार्न थालेकी छु भने इच्छुक छिमेकीहरुलाई ती बिरुवाहरु बाँड्न थालेकी छु। यसका साथै गर्मी मौसममा नयाँ नयाँ विधि अपनाइ धनियाँ उमार्ने सीप सिक्दैछु। नौ महिनाअघि रोपेको गोलभेंडाको बिरुवाबाट दोस्रोपटक बिरुवा उमारी त्यसमा फल समेत लाग्दैछ ।

वनस्पति विज्ञानको अव्यावहारिक ज्ञान

कृषिकर्ममा रुचि राख्ने प्रायःसबै नेपालीलाई परम्परागतरुपमा दैनिक उपभोग गरिने कतिपय तरकारी आफै उत्पादन गर्न सकिन्छ भन्ने आधारभूत ज्ञान छ। कतिपयले आफ्नै कौसी र करेसाबारीमा उत्पादित तरकारी खाइरहेका छन् । यति हु“दाहु“दै पनि पछिल्लोसमय तरकारीमा परनिर्भरता अच्चकाली बढेको छ।

वास्तवमा कृषिकर्मकालागि चाहिने उत्तम बीउ र बिरुवाको छनोट गर्न नजानेर पनि कृषिकर्मप्रतिको रुचि घट्दै गएको छ। परम्परागतरुपमा कृषिकर्म गरी जीविकोपार्जन गरेका र गर्दै आएका बाजे तथा बाबु पुस्ताका छोरानाति शहर पसेपछि कृषिकर्म हुँदा खानेहरुले गर्ने काम हो भन्ने मानसिकता पलाउँदै गएको छ। यी र यस्ता कतिपय कारणले गर्दा शिक्षित र हुने खानेहरुको प्राथमिकतामा कृषिकर्म पर्न छाडेको हो।

 याे पनि हेर्नुहाेस्–घरमै फोहोर व्यवस्थापन

शिक्षित र हुनेखानेहरुको प्राथमिकतामा कृषिकर्म नपर्नुको अर्को मुख्य कारण वत्र्तमान शिक्षा पनि एक हो भन्नेमा दुईमत नहोला। किनभने निजी विद्यालयको पूर्वप्रावि तह तथा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीले वर्षौंदेखि वनस्पति विज्ञान अन्तर्गत तरकारी र फलफूलबारे पढ्दै आएका छन्। तर अफसोस, यस्ता तरकारी र फलफूल कसरी फल्छ भन्ने आधारभूत कुरा सिकाउन वत्र्तमान शिक्षा पूर्णतया असफल छ। यसो हुनुमा शिक्षक, विद्यालय व्यवस्थापन मात्र हैन् पाठ्य सामग्री पनि दोषी देखिन्छन्।

याे पनि हेर्नुहाेस्– बन्दाबन्दीमा वर्जित छ फूलबारी स्याहार्न !

विज्ञान विषयको शिक्षणसिकाइ व्यवहारिक ज्ञानबिना अपूरो र अधूरो हुन्छ भन्ने कुरा विकसित मुलुकको अध्ययन प्रतिवेदनले देखाए पनि नेपालमा वनस्पति विज्ञानको अधिकांश पाठ सैद्धान्तिक पठनपाठनमा सीमित छ। वनस्पति विज्ञानको निष्क्रिय शिक्षण सिकाइले न शिक्षकलाई सिर्जनात्मक बनायो न विद्यार्थीहरुमा कौतुहलता नै जगायो। यस अर्थमा मानव जीवन र जगतस“ग प्रत्यक्ष जोडिने वनस्पति विज्ञानको व्यवहारिक ज्ञानलाई पाठ्यपुस्तकले विस्तारित गर्नुको साटो परीक्षामुखी बनायो । साना विद्यार्थीले तरकारी र फलफूलको नाम त पढे तर, तरकारी र फलफूल कसरी उम्रन्छन भन्ने व्यवहारिक ज्ञान पाएनन्। त्यसैले धेरै विद्यार्थीका लागि विज्ञान विषय नै हाउगुजी बन्दै गएको छ।

यो पनि पढ्नुस् : बालबालिकालाई अनलाइन शिक्षाको बोझ

यसरी दिउँ व्यावहारिक शिक्षा

यस्तै विद्यालय व्यवस्थापनले विद्यार्थीहरुलाई वनस्पति विज्ञानको व्यवहारिक ज्ञान दिन विद्यालय परिसरमा एउटा करेसाबारी बनाउन जरुरी छ। पक्की छत हुनेहरुले कौसीमा तरकारी या फलफूलको खेती कसरी गरिन्छ भन्ने ज्ञान दिनुपर्छ। यस्ता करेसाबारीको संरक्षणको जिम्मा पनि वनस्पति विज्ञानका शिक्षक र विद्यार्थीलाई दिनु पर्छ।

वनस्पति विज्ञानलाई रुचिकर बनाउन करेसाबारी र कौसी खेतीले महत्वपूर्ण भूमिका खेल्छ। विगतमा सरकारले सामुदायिक विद्यालयमा शुरु गरेको ‘एक विद्यालय एक बगैंचा’ लाई परिमार्जन गरी निजी विद्यालयलाईसमेत सहभागी गराएर ‘एक विद्यालय एक करेसाबारी’ को कार्ययोजना अघि बढाउन जरुरी छ।

यो पनि पढ्नुस् – ‘जुम एप’ बाटै कौसी खेती तालिम, फल्न थाले तरकारी

सरकारले २०७७/७८ को बजेटमा रु.४१ अर्ब ४० करोड कृषिमा विनियोजन गरेको छ। कृषितर्फको विनियोजित रकम तीन तहको सरकार मार्फत् खर्च गर्न सरकारले थुप्रै कार्यक्रम अघि सारेको छ। स्थानीयतहले यस्ता कार्यक्रममा विद्यालय तथा अभिभावकलाई पनि सहभागी गराउन सके कृषिकर्मप्रतिको आकर्षण बढ्ने निश्चित छ।

विद्यालय तहको शिक्षाले विद्यार्थीलाई कम्तीमा बीउदेखि बिरुवा हुर्काउनेसम्मको व्यावहारिक ज्ञान दिन सके उनीहरु कृषिकर्मप्रति आकर्षित हुन्छन्। यस्तै, वर्षेनी लाखौंको संख्यामा एसईई परीक्षामा उत्तीर्ण हुनेहरु कोही कृषिविज्ञ बन्ने र अनुत्तीर्ण हुनेहरु पनि कृषिकर्ममा लाग्ने वातावरण तयार गर्न विद्यालयहरुको महत्वपूर्ण भूमिका हुन्छ।

याे पनि हेर्नुहाेस्– आनन्दको स्रोत बगैंचा

प्रतिकृया दिनुहोस