बन्दाबन्दीका कारण नर्सरी, हाेटल, कार्यालय र घरकाे बगैंचामा गएर फूल तथा बिरुवाकाे स्याहार गरेर गुजारा चलाउने मालीहरुकाे राेजगारी संकटमा परेकाे छ।
कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दीको ५२ औं दिन बल्खुकी संगीता महर्जन पैदल हिंडेरै नयाँबजार पुगिन्। बन्दाबन्दी घोषणापछि शुरूका दुई–चार दिन उनी घरैमा बसिन् । तर, बिरुवाले पानी समेत खान पाएन भन्ने पीर लागेपछि उनी हिंड्दै नर्सरी धाउन थालेकी हुन्। उनी बिहान ५ बजे नै घरबाट निस्किएर करीब डेढ घण्टाको हिंडाइपछि नयाँबजारस्थित कुमारी नर्सरीमा पुग्छिन् । पहिलो काम फूलमा पानी हाल्छिन् । बन्दाबन्दी भएकाले टाढाबाट कोही नआए पनि नजिकैका बासिन्दा फूलका बिरुवा लिन आउँछन् । उक्त नर्सरीमा रु.२० देखि रु.३० हजारसम्म पर्ने बिरुवा छन्। उनले मालीको काम गरेको २२ वर्ष भयो । लामो बन्दाबन्दीले मालीहरू समस्यामा परेको उनी बताउँछिन् । उनी भन्छिन्, “व्यापार ठप्प भएपछि मजदूरी पाइँदैन, आम्दानी नभएपछि समस्या शुरू भएको छ ।” बन्दाबन्दीको समय थपिएपछि विभिन्न ठाउँका श्रमिक मालीलाई समस्या भएको छ । मच्छिन्द्र महर्जन पहिलो पटक सूर्यबहादुर थापाको प्रधानमन्त्री क्वार्टरमा माली थिए । त्यहाँ दुई वर्ष काम गरेपछि मल्ल होटलको बगैंचामा काम थाले । अहिले ठमेलको रेस्टुरेन्ट र विभिन्न घरहरूमा गरी तीन ठाउँमा काम गर्छन् । तर, अहिले उनी दैनिक काममा जाँदैनन्। बन्दाबन्दीसँगै होटलहरू पनि बन्द हुँदा कतिपय मालीले ज्याला पाउन छाडेको उनी बताउँछन् । उनी भन्छन्, “होटल बन्द छ, अहिले काममा नआउन भनेका छन् । म आफैं हप्तामा एकदिन यसो मिलाएर जान्छु ।” अधिकांश होटल र अन्य संस्थाहरूले मालीको कामलाई सम्मानजनक ढंगले नहेरेको उनको गुनासो छ। धेरै फूलको माग ठूला होटल र रेस्टुरेन्टमा हुन्छ । तर, होटल र रेष्टुरेन्ट बन्द हुँदा अधिकांश नर्सरीमा फूलहरू कुहिन थालेका छन् । बन्दाबन्दीमा कार्यालय र सार्वजनिक स्थलहरू बन्द भएपछि मालीले पनि काम पाउन छाडेका छन् । दैनिक ज्याला मजदूरी गर्ने मालीहरूलाई रोजगारदाताले बन्दाबन्दीपछि मात्र बोलाउने जानकारी दिएको मच्छिन्द्र महर्जन बताउँछन् ।
नयाँबजारस्थित कुमारी नर्सरीमा काम गर्दै साेमबहादुर सारु मगर, लक्ष्मी माली र संगीता महर्जन ।
धादिङकी लक्ष्मी तामाङले फूलका बोटहरू स्याहार्न थालेको आठ वर्ष भयो । सबेरै उठ्नु, बोट–बिरुवामा पानी हाल्नु, गोडमेल गर्नु, बिरुवामा मलिलो माटो राख्नु, प्लाष्टिकका स–साना पोकामा माटो भरेर बिरुवा रोप्नु, नचाहिने झार उखेल्नु उनको दैनिकी हो । अहिले उनी नयाँबजारस्थित कुमारी नर्सरीमा काम गर्छिन् । उनी भन्छिन्, “साहुको व्यापार भए न हामीले तलब पाउने हो, व्यापार छैन, तलब पनि छैन ।” विभिन्न होटल, रेस्टुरेन्टहरूमा फूलका गमलाहरूको माग हुने भए पनि बन्दाबन्दीमा व्यापार ठप्प छ । महीनामा लाखौंको कारोबार गर्ने यस्ता नर्सरी अहिले घाटामा जान थालेका छन् । फूल कुहिने र बिरुवा किन्ने मान्छे नआउँदा समय घर्कने समस्या छ। नयाँबजारका इन्द्र महर्जनले २३ वर्षदेखि कुमारी नर्सरी चलाइरहेका छन् । अहिले जस्तो घाटा उनले कहिल्यै बेहोरेका थिएनन् । कारोबार ठप्प हुँदा लाखौं घाटा भएको महर्जन बताउँछन् । उनी भन्छन्, “काममा आउने मालीलाई काम छैन नआऊ भन्न मिल्दैन । तर, हामीलाई टिक्नै गाह्रो भइसक्यो ।” तर, आंशिक समय मात्र मालीको काम गर्नेलाई समस्या भएको उनी बताउँछन्। सोमबहादुर सारू मगर माली भएको १३ वर्ष भइसक्यो । परिवारसहित काठमाडौंमा बस्दै आएका उनले यही काम गरेर छोराछोरी पढाएका छन् । उनी भन्छन्, “अरू काम जानेको छैन, भारी बोक्न सकिंदैन, गाउँमा खेतीपाती गर्नेलाई मालीको काम नै ठीक लाग्छ ।” तर, अहिले काम नै संकटमा परेको उनी गुनासो गर्छन्।