समाचार शुक्रबार, जेठ २३, २०७७

थप २७८ जनामा कोरोना पुष्टि, दैलेखका मात्र ९० जना संक्रमित

हिमालखबर

थप २७८ जनामा कोरोना पुष्टि, दैलेखका मात्र ९० जना संक्रमित

नेपालमा थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको कुल संख्या २ हजार ९१२ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमण भेटिएकामा दैलेखका मात्रै ९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यस्तै, कपिलवस्तुका ४४ जना, सुनसरीका २१ जना, रुपन्देही र रामेछापका १८/१८ जना, महोत्तरीका १७ जना, झापाका १२ जना, मोरङ र रौतहटका ६/६ जना, काभ्रे, भोजपुर र डडेल्धुराका ५/५ जना, धनुषा र कैलालीका ४/४ जना, बारा र जुम्लाका ३/३ जना, सिन्धुली, नवलपरासी र तनहुँका २/२ जना नयाँ संक्रमित थपिएका छन्। दोलखा, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, गुल्मी, हुम्ला, सुर्खेत, दाङ, अछाम र बझाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

थपिएका नयाँ संक्रमितमध्ये २६७ जना पुरुष र ११ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हालसम्म ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। पछिल्लो पटक मात्र ४३ जना डिस्चार्ज भएका छन्।

यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। बिहीबार मात्रै सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० वर्षीय एक युवकको संक्रमणबाट मृत्यु भएको थियो। गएको ७ जेठमा भारतबाट फर्किएपछि १४ दिन क्वारेन्टिनमा राखिएका उनको आरटीडी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको थियो। तर, घर पुगेको भोलिपल्टै मृत्यु भएका उनको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।

अब देशका विभिन्न अस्पतालको आइसोलेसनमा २ हजार ५६८ जना संक्रमितको उपचार भइरहेको छ। प्रदेश–१ मा १६६ जना, प्रदेश–२ मा ८७१ जना, बागमतीमा ५०, गण्डकी प्रदेशमा ५४, प्रदेश–५ मा ८६९, कर्णाली ४७५ र सुदूरपश्चिम प्रदेशमा ८३ जना उपचाररत छन्।

प्रतिकृया दिनुहोस