टिप्पणी शनिबार, जेठ २४, २०७७

२० वर्षभित्र चार महामारी, किन बचाउन सकेन विज्ञानले ?

हिमालखबर

२० वर्षभित्र चार महामारी, किन बचाउन सकेन विज्ञानले ?
कोरानाभाइरस नियन्त्रणका नाममा काठमाडौंमा स्थानीयलाई अस्वस्थकर किटाणुनाशक स्प्रे छर्कदैं स्थानीय । तस्वीरः एएफपी
डा. डीबी कट्टेल

विश्व अहिले एउटा अत्यन्तै सूक्ष्म विषाणु विरुद्ध लडिरहेको छ । मानव बुद्धिका अगाडि एउटा चुनौती बनेर देखापरेको रोगको कारक भने त्यही सूक्ष्म विषाणु कोभिड–१९ हो ।

सूक्ष्म जीव र विषाणुहरूसँग मानिसको लडाइँ अहिले मात्र होइन निकै लामो समयदेखि चलिआएको हो । विभिन्न कालखण्डमा देखिएका महामारी यसका उदाहरण हुन् । समय क्रमसँगै सूक्ष्म जीव र विषाणुको आनुवंंशिक संरचनामा आउने परिवर्तन त प्राकृतिक नियम नै हो । यो विषाणुले भने अन्तर प्रजातीय सीमा नाघेर आफूलाई फरक अस्तित्वमा ल्याएकाले नियन्त्रण गर्न कठिन भइरहेको छ।

विषाणुहरूको जीवन प्रक्रिया अत्यन्तै रहस्यमय मनिन्छ, त्यसमा पनि यो विषाणु देखापरेको चार महीना मात्रै भएकाले यसको चरित्रबारे वैज्ञानिकहरू माझ अझै पर्याप्त ज्ञानको अभाव छ ।  

अहिले विश्वमा आतंक मच्चाइरहेको कोरोना विषाणुको आरक्षित संग्रह अर्थात् प्राकृतिक स्रोत चमेरो नै हो भन्ने तथ्यलाई विभिन्न खोज र अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् । यद्यपि मानव समुदायमा यो कुन मध्यमबाट प्रवेश गर्‍यो त्यो चाहिं अझै प्रष्ट भइसकेको छैन ।

चमेरो सँगसँगै घातक विषाणुहरूको जन्मका लागि जंगली पक्षीहरू पनि उत्तिकै जिम्मेवार छन् । मूल प्राकृतिक स्रोतको कुरा गर्दा ‘सालक’ बाहेक अन्य वन्यजन्तुका प्रजातिहरूमा कोरोना विषाणुसँग मिल्दाजुल्दा विषाणुहरू अहिलेसम्म पत्ता लागेको तथ्यांक छैन।

यसैगरी सार्स कोरोना विषाणु–२ सँग सम्बन्धित अन्य विभिन्न उपभेदका रूपमा कोरोना विषाणुहरू एशियाका धेरै जंगली स्तनपायीहरूमा उपस्थित छ भन्ने मान्यता चाहिं धेरै वैज्ञानिकहरूमा छ ।

विभिन्न वैज्ञानिक अनुसन्धानहरूले के स्पष्ट पारेका छन् भने विगतमा जंगली जनावरहरू पनि कोरोना विषाणुको उद्भवमा समावेश थिए तर यो विषयको प्रणालीगत अध्ययनमा भने अझै कमि रहेको वैज्ञानिकहरू मान्दछन् ।

चमेरा: विषाणुको प्राकृतिक संग्रहालय

एउटा सर्वस्वीकार्य निष्कर्ष के हो भने पक्षी, सुँगुर, घरेलु वातावरणका अन्य स्तनपायी जनावर र बजारमा बिक्री गर्न राखिएका वन्य जन्तुहरूको मिश्रणका साथै मानिससँग उनीहरूको घनिष्ठ सम्पर्कले अन्तर प्रजातीय अन्तरक्रियालाई सही वातावरण प्रदान गरेको हो । यही कारणले मानव समुदायमा कोरोना जस्तो घातक विषाणुको जन्म भएको हो ।

कोरोनाभाइरसको स्रोत मानिएको चमेरा । तस्वीरः आइस्टक डटकम

कोरोना विषाणुको एउटा जन्मसिद्ध गुण भनेकै मानिस होस् या अन्य स्तनधारी प्राणी वा पक्षीहरू नै किन नहुन् उनीहरूलाई सजिलै संक्रमित गर्न सक्नु हो । वैज्ञानिकहरूले यो तथ्यलाई पुष्टि गरिसकेका छन् ।

विगत दुई दशकको अवधिमा निस्किएका सार्स, मर्स, इबोला र कोभिड–१९ जस्ता विषाणुजन्य महामारीले विश्वभरिकै सार्वजनिक स्वास्थ्यका क्षेत्रमा गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

रोगजनक धेरै प्रकारका कोरोना विषाणु विभिन्न प्रजातिका प्राणीहरूमा विद्यमान छन् भन्ने कुरामा चाहिं धेरै वैज्ञानिक सहमत छन्। साथै सार्स र मर्ससँगै, मानवसँग सम्बन्धित कोरोना विषाणु सबै पशुजन्य हुन् जुन जंगली जीव–जन्तुहरूबाट उत्पन्न भएका हुन्।

चमेरो भने एक प्राकृतिक संग्रहालय हो जसमा लामो समयदेखि कोरोना विषाणुको विशाल विविधता संग्रहित छ भन्ने प्रमाण धेरै अनुसन्धानहरूले दिएका छन् ।

यसबाहेक यी सबै पशुजन्य रोगहरूको मुख्य कारक विषाणु जसले आफ्नो प्राकृतिक स्रोतबाट मानवलाई संक्रमित गर्न प्रजातीय सीमा पार गरिसकेको छ भन्ने पनि प्रष्ट भइसकेको छ ।

सार्स, मर्स र कोभिड–१९ महामारी जस्तै चमेरोमा विद्यमान विषाणुले मानव वा अन्य जीव–जन्तुका प्रजातिहरूमा भविष्यमा अर्को जटिल कोरोना विषाणुको उद्भव गर्न ठूलो भूमिका खेल्न सक्छ भन्ने मान्यता पनि अहिले वैज्ञानिकहरू माझ उत्तिकै सशक्त छ ।

नयाँ संक्रामक रोगहरू विरुद्ध रक्षाका उपाय, त्यस्ता विषाणुहरूको प्राकृतिक स्रोतको पहिचान, त्यसमा हुने परिवर्तनका लागि निगरानी, र मानव समुदायसम्म पु¥याउन सजिलो बनाउने विषाणुजन्य माध्यम र कारक स्रोतहरूबारे अझै पनि वैज्ञानिक जगतमा स्पष्ट जानकारीहरू एकत्रित भइसकेको छैन ।

स्वरुप परिवर्तन गर्न माहिर कोभिड–१९

वैज्ञानिकहरू भन्छन्, विषाणुजन्य प्रतिकृतिको लागि अद्वितीय क्षमताका कारण कोरोना विषाणुमा (आरएनए प्रकारका) पुनर्संयोजन सँगै स्वाभाविक रूपमा उत्परिवर्तन दरहरूको आवृत्ति उच्च हुन्छ । जसको कारण असामान्य रूपमा उच्च प्रतिकृतिको विषाणु यसले जन्माउन सक्छ ।

कोरोना विषाणुका अनुवांशिक संरचनाहरू अनुक्रमहरूको लाभ र नोक्सानीहरूबाट मात्र विकसित हुँदैनन् । यसले सूक्ष्म परिवर्तनहरूको मध्यमबाट प्रोटिनको अनुक्रमहरूलाई समेत परिमार्जन गर्छ र आफ्नै उप–प्रकारहरूलाई पुनर्संयोजन गर्दै पुनः क्रमबद्ध गर्न समेत कोरोना विषाणु माहिर हुन्छ ।

यस्तै मानव लगायत अन्य प्रजातिका विभिन्न जीव वा प्राणीहरूलाई स्वरूप परिवर्तन गरेको कोरोना विषाणुले सजिलै नयाँ स्रोतको रूपमा स्थापित गर्न र आफूलाई पारिस्थितिकीय रूपमा अनुकूलित गर्न पनि सक्दछ । यो रोग पशुजन्य बन्नुको साथै महामारीको कारण बन्नु पनि यही नै हो ।

यो क्रम आकस्मिक रूपमा देखा परेर केही समय पछि टुंगिए पनि भविष्यमा कुनै पनि समयमा अर्कै स्वरुपमा अझ आक्रामक भएर देखा पर्न सक्छ भन्ने मान्यतामा वैज्ञानिकहरू सहमत छन् । त्यसैले समान उपचार पद्धति र नियन्त्रण शैली नयाँ महामारीको वेला उपयोग नहुनुको कारण पनि यही हो । 

सार्सको महामारी हुनुभन्दा पहिला दुई प्रकारका मानव–कोरोना विषाणुलाई मात्र चासो दिइएको थियो । सन् २००४ को महामारीपछि थप दुई वटा मानव–कोरोना विषाणु पत्ता लागे।

मानवसँग सम्बन्धित कोरोना विषाणु चाहिं सन् १९६० को दशकमा फेला परेको वैज्ञानिक मान्यता छ । जुन विषाणुको अनुवांशिक संरचना घानामा पाइएको चमेरोसँग मिल्न पुगेको विभिन्न वैज्ञानिक अध्ययनले पुष्टि गरेका छन् । त्यसका पूर्वज २०० वर्ष पुरानो मानिन्छन् । यद्यपि, मानव र मर्स कोरोना विषाणु लगभग ४००–५०० वर्ष पहिलेदेखि उनीहरूको सामान्य पुर्खाबाट विचलित हुँदै आएको वैज्ञानिक तर्क छ ।

मर्स कोरोना विषाणुले मानवमा अनुकूलित हुन आफूलाई विकसित वा परिमार्जित गरेको हुनुपर्छ भन्ने वैज्ञानिक विश्वास छ । २१औं शताब्दीमा अप्रत्यासित मानव समुदायमा रोगको प्रकोपका रूपमा सार्स उद्भव भएपछि कोरोना विषाणुलाई चमेरोमा विद्यमान विषाणु स्रोत विशेष रूपमा खोतल्न थालिएको हो ।

त्यस्तै जातिवृत्तिको आधारमा हेर्ने हो भने मर्ससँग सम्बन्धित कोरोना विषाणु विश्वभर फैलिएका चमेराका विभिन्न प्रजातिमा पाइएका छन् । जसमध्ये केहीलाई मर्स विषाणु समान कोरोना विषाणु प्रजातिमा वर्गीकृत गरिएका छन् । यस बाहेक, कोरोना विषाणुवाहक अर्थात् बीचको माध्यमलाई मुख्य स्रोत (चमेरो) बाट मानवमा प्रसारणको लागि वा यो विषाणुको नवीन र घातक स्वरूप उद्भवमा महत्वपूर्ण भूमिका खेल्ने कारकको रूपमा विश्वास गरिन्छ ।

सन् २००२ मा चीनको जीवजन्तुको बजारमा रहेको बिरालोबाट ‘सार्स’ प्रकोप निम्तिएपछि पहिलो पटक यसले विषाणुको अन्तर प्रजातीय प्रसारणको गतिलो प्रमाण प्रदान गरेको थियो । अर्थात् त्यो बिरालोले सार्स महामारीको प्रसारण गर्न ठूलो भूमिका खेलेको थियो ।

त्यस्तै अर्को उदाहरण, मध्यपूर्वमा मानवमा मर्स प्रसारणका लागि कोरोना विषाणुको अनुवांशिक उत्परिवर्तनमा ऊँटले ठूलो भूमिका खेलेको थियो ।

हामीले के बुझ्नु आवश्यक छ भने ठिमाहा प्रजातिहरूको जोखिम र गतिशीलता वा कोरोना विषाणुको मानवदेखि मानव प्रसारण पनि अन्य धेरै कारणहरूद्वारा प्रभावित छन् । जस्तै स्रोतको प्रतिरक्षा प्रतिक्रिया, विषाणुजन्य प्रतिकृति दक्षता, वा विषाणुको उत्परिवर्तन दर आदि । उदाहरणका लागि, चमेरो सँगसँगै ऊँटमा पनि कोरोना विषाणुलाई तटस्थ राख्न सक्ने प्रभावकारी प्रतिरक्षात्मक क्षमता छ भन्ने वैज्ञानिक मान्यता छ । 

आम वैज्ञानिकहरू अहिले कोरोना विषाणुले आफ्नो प्राकृतिक स्रोतमा धेरै परिवर्तन गरिसकेको विश्वास गर्छन् । जसले भविष्यमा थप रोगको खतरातर्फ संकेत गर्दछ । अहिलेसम्म प्रष्ट हुन नसकेको अर्को विषय के हो भने कोरोना विषाणु पहिले नै चेमेरोमा थियो र पछि अरू पक्षीहरूमा सरेको हो वा अरू पक्षीबाट चमेरोमा सरेको हो भन्ने प्रष्ट भइसकेको छैन।

अमेरिकाको क्यालिफोर्नियामा सन् १९१८ मा फैलिएको स्पाइन फ्लु महामारीका बिरामी । तस्वीरः गेट्टी इमेजेज

वैज्ञानिकहरू भन्छन्, स्पेनिस फ्लु देखिएका वेला विषाणुको वंश अनुक्रम खण्डहरू समकालीन पक्षीजन्य विषाणुका अनुक्रमहरू भन्दा फरक छन् । यसले, लामो समयसम्म पक्षीजन्य विषाणुहरूले आफ्नो प्राकृतिक स्रोतमा थोरै भए पनि प्रतिजनिक परिवर्तन गर्दछ भन्ने कुरालाई स्पष्ट पार्दछ ।

त्यो वेला महामारीको कारक विषाणुको नयाँ गुणसूत्र सबै उस्तै प्रक्रियाबाट युरेसियन जल पक्षीमा विद्यमान विषाणुबाट पुनर्संयोजन हुँदै उत्पन्न भएको हो भन्ने वैज्ञानिक मान्यता छ ।

यी विषाणुका उपभेदहरू अन्य पक्षीहरू लगायत, केही सामुद्रिक स्तनधारी प्रजाति, र घर पालुवा जीवमा प्रतिस्थापित भयो र अन्तरप्रजातीय प्रतिस्थापनको क्रममा मानवमा देखा पर्‍यो।

विगत दुई दशकयता देखिएका महामारीको कारक कोरोना विषाणुको मातृ स्रोत एकै, अर्थात् ‘सार्स’ विषाणु हो भन्ने तथ्यलाई पनि वैज्ञानिकहरूले स्पष्ट परेका छन् । यसको अर्थ पछिल्ला महामारी अर्थात् कोभिड–१९ विषाणु मात्र एउटा वंशमा आएको परिवर्तित रूप हो । सामान्यतया अनुकूलन र वंश विकास निरन्तर चलिरहन्छ । जसको कारण, विषाणुहरू नयाँ–नयाँ स्रोतहरूमा स्थापित भइनै रहन्छन् ।

विषाणुले कुनै एक निश्चित समूहमा स्थानान्तरण गरी आफूलाई परिवर्तन गरिसकेपछि घातक विषाणुको नव उदयसँगै स्थायी वा अस्थायी महामारी गराउन सक्ने सम्भावना प्रबल रहनुको कारण पनि यही नै हो । जसले भविष्यमा आउन सक्ने अर्को महामारी अवस्थालाई समेत संकेत गर्दछ ।

त्यस्तै विगतका तथ्यहरूबाट के पनि बुझ्न सकिन्छ भने मानवबाट मानवमा प्रसारित हुन अनुवांशिक विविधताका लागि वातावरण उपलब्ध गराउन बिरालो र ऊँटले एक कुशल माध्यमको भूमिका निर्वाह गरे ।

त्यसै गरी १०२ वर्ष अघिको महामारीमा मानवसम्म आइपुग्न विषाणुलाई प्रजातीय सीमा पार गर्न संभवतः सुँगुर जिम्मेवार बन्यो । भविष्यमा हाम्रै वरिपरि रहेका अरू कुनै पनि जीव अर्को महामारीका लागि कारक बन्न सक्छन् ।

वेलैमा मानव समुदाय सजग र सचेत बन्नु बाहेक महामारीबाट जोगिने अर्को उपाय छैन । किनभने अहिलेसम्म यसको नियन्त्रणका लागि न सहज उपचार पद्धतिको विकास भएको छ, न  त यसको पुनरावृत्तिको मिति नै अनुमान गर्न सकिन्छ । २० वर्षको छोटो अवधि भित्रै चारवटा महामारी व्यहोरिसकेबाट पनि हामीले यही अनुमान गर्न सक्छौं ।

(कट्टेल चीनको बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका सह–प्राध्यापक हुन् ।)

 

प्रतिकृया दिनुहोस