डोटीमा एक महिलाको घरमै गोली लागेर मृत्यु, हत्या भएको माइती पक्षको दाबी
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा एक महिलाको गोली लागेर मृत्यु भएको छ । आइतबार साँझ घरमै भएको भरुवा बन्दुकको गोली लागेर करीब २० वर्षकी अनिता वनको घटनास्थलमै मृत्यु भएको थियो ।
सोही वडाका वडाध्यक्ष नन्दराज भट्टका अनुसार घटनापछि आफूलाई एकजना शिक्षकले फोन गरेर भनेपछि गएको र घटनास्थलमै मृत्यु भइसकेको बताए । उनले भने, “त्यो समयमा दुई जना मात्र घरमा रहेछन् । श्रीमानका अनुसार माथिल्लो तलामा बन्दुक थियो, माथि गएको बेला अचानक बन्दुक पड्केको आवाज आएपछि आफू जाँदा उनको मृत्यु भइसकेको बताए । अब पोष्टमार्टम गरेपछि थाहा होला।”
अर्को पनि घर भएकाले अनिताका सासूससुरा कहिले त्यो घरमा र कहिले अर्को घरमा बस्ने गरेका थिए । घटना हुँदा भने अनिता र उनका श्रीमान् मात्रै रहेको पनि वडाध्यक्ष भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलीप सिंह देउवाले आफूहरु घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि लिएर आएको र भोलि (मंगलबार) पोष्टमार्टम हुने जानकारी दिए । हिमालसँग टेलिफोनमा उनले भने, “बायाँपट्टिको छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको रहेछ तर हत्या हो वा आफैंले हानेको भन्ने बारेमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।”
घरमा राखिएको भरुवा बन्दुक लाइसेन्स नभई राखिएको पाइएको छ, उनले भने । वडाध्यक्ष भट्टका अनुसार माइती पक्षले भने अनिताको हत्या भएको बताएका छन् । २९ फागुनमा प्रेम विवाह गरेका उनीहरुको विवाहमा माइती पक्षलाई थाहा नदिइएको पाइएको छ।