कोरोनाको उच्च जोखिममा यूरोपका नेपाली
विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण यूरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् ।
चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय यूरोप र अमेरिकामा तीव्र रूपमा फैलिरहेको छ ।
इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगल लगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण बढे सँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् ।
कोरोनाका कारण यूरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप संकट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ ।
कोरोना संक्रमणका कारण युरोपमा मात्रै ४० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति यूरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजार ९६४ सङ्क्रमित भएको र ६४ हजार ७२७ को ज्यान गएको वल्र्डो्मिटरर्सको तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजार ६३८ उपचारपछि घर फर्केका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार, कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना सङ्क्रमित भएको तथ्याङ्क छ । बीस हजार ९९६ उपचारपछि निको भई घर फर्केका छन् ।
इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष देव गुरुङले राससलाई जानकारी दिनुभयो । गुरुङका अनुसार, इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । “यहाँको अवस्था हेर्दा नेपालीहरुको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन” उनले भने, “यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ ।”
कोरोनाको सङ्क्रमणले सङ्कटग्रस्ट इटालीले गएको ४ मार्चदेखि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको थियो ।
गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो यूरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताए । कोरोना सङ्क्रमणको गति यही स्थितिमा बढिरहे यूरोपमा रहेका नेपालीहरुमा थप सङ्कट निम्तिन सक्ने खतरा रहेको उनले बताए । कोरोनाको सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरुलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन सङ्घसमेत संस्थागतरूपमा लागि परेको बताए ।
आचार्यका अनुसार, कोरोनाबाट आइपर्न सक्ने सम्भावित सङ्कटलाई ध्यान दिएर यूरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार यूरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरुको तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले बताए ।