नेपाल टेलिकमको रिचार्जमा शतप्रतिशत बोनस
नेपाल टेलिकमले बन्दाबन्दी (लकडाउन)को समय ११ चैत्रदेखि १८ चैत्रसम्म रिचार्ज गर्दा शतप्रतिशत बोनस दिने भएको छ ।
लकडाउन अवधिभर टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज सेवा प्रदान गर्न यस्तो निर्णय गरिएको जानकारी दिएको छ ।
टेलिकमका अनुसार यो निर्णय १३ चैत्र २०७६ देखि ७ दिनको लागि लागू हुनेछ । वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनस प्राप्त हुनेछ ।
यसरी प्राप्त गरेको वोनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ ।
उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन । रिचार्ज कार्ड प्रयोग गरी रु.५० र रु.१०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम दुई दिनभित्र खपत गरिसक्नु पर्छ ।
रु.२०० र रु.५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नुपर्ने छ । रु.१००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्ने टेलिकमले जानकारी दिएको छ ।
एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु.१० देखि रु.९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । रु.१०० देखि रु.४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ ।
रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ । रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी एक प्रेस विज्ञप्तीमा उल्लेख छ ।