मंगलबार ८६ अंकले घटेकाे नेप्से बुधबार ७४ अंक बढ्यो
शेयर बजार परिसूचक नेप्से बुधबार ७३.७८ अंकले उकालो चढेको छ । योसँगै नेप्से परिसूचक १ हजार ४२३ विन्दुमा पुगेको छ।
मंगलबार नेप्सेमा भारी गिरावट आएपछि निर्धारित समयभन्दा करीब दुई घण्टा अगाडि नै कारोबार स्थगित गरिएको थियो । मंगलबार नेप्से परिसूचक ८६ अंकले ओरालो झरेको थियो।
बुधबार बजारमा मागको चाप देखिएको छ । कारोबार रकम पनि रु. २ अर्ब २२ करोड पुगेको छ । नेप्सेमा बुधबार १८० कम्पनीका ५६ लाख २६ हजार शेयर किनबेच भएका छन्।
बुधबार म्युचुअल फण्डबाहेक सबै समूहका उपसूचक सकारात्मक बनेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७.५८ प्रतिशतले बढेको छ।
बुधबारको कारोबारमा सबैभन्दा धेरै साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्तका लगानीकर्ताले १०–१० प्रतिशत कमाएका छन् । बजार उकालो चढेको दिन पनि हिमाल दोलखा जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै ९.३४ प्रतिशत गुमाएका छन्।
पछिल्ला साताहरुमा नेप्सेमा तीव्र उतारचढाव देखिएको छ । १५ फागुनमा नेप्सेले १ हजार ६३२ अंकको उचाइ छोएको थियो।