वामदेवबारे निर्णय गर्नु पहिले नै खतिवडालाई राष्ट्रियसभामा सिफारिस गरिसकेको ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बालुवाटारमा भएको भेटघाट सकिएको छ । बालुवाटार स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई पार्टीको निर्णय आउनु अघि नै मन्त्रिपरिषदले अर्थमन्त्री खतिवडाको राष्ट्रियसभामा म्याद थपका लागि सिफारिस गरिसकेको बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले बुधबार बिहान वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भनेर निर्णय गरेको थियो । तर त्यसपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँग आफूमाथि घेराबन्दी भएको भन्दै गौतमलाई सिफारिस गर्न आफू बाध्य नहुने बताएका थिए ।
ओलीले बैठकमा सहमति भइसकेको विषयमा निर्णय नलिने बताएपछि नेता नेपाल बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसअघि हिमालसँग सचिवालयको निर्णयमा कुनै फेरबदल नभएको बताएका थिए । सचिवालय बैठकको निर्णय बाहेक अरू कुनै निर्णय नभएको उनले जानकारी दिएका थिए ।