शेयर बजारमा उत्साह, अहिलेसम्मकै उच्च कारोबार
शेयरबजारमा आइतबार उछाल आएपछि नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढेको छ । योसँगै परिसूचक १ हजार ५०४ विन्दुमा पुगेको छ ।
राष्ट्रिय सभा सदस्य पदमा नेकपा नेता बामदेव गौतमको प्रवेशसँगै अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा र अर्थमन्त्रीबाट बाहिरिने हल्लापछि बजारमा उछाल आएको हो ।
यो सँगै बजारले अढाई वर्षअघिको उचाई कायम गरेको छ । पछिल्ला केही सातादेखि बजारमा निरन्तरको वृद्धि देखिएको छ । ब्यांक ऋणको ब्याजदर केही कम भएको तथा विभिन्न कारणले बजारमा माग बढेपछि नेप्सेमा सुधार देखिएको हो ।
आइतबार नेप्से परिसूचक ७५ अंकसम्मले बढेको थियो । बजारको वृद्धिसँगै कारोबार रकमसमेत बढेर रु. ३ अर्ब ६० करोड पुगेको छ ।
यो अहिलेसम्मकै सर्वाधिक कारोबार हो । आइतबार सबै उप सूचकहरु पनि बढेका छन् । ब्यांकिङ समूह ७ दशमलव १५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै फस्र्ट माइक्रोफाइनान्स र एनएमबी ब्यांकका लगानीकर्ताले क्रमशः ९ दशमलव ९६ र ९ दशमलव ९३ प्रतिशत कमाएका छन् ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ६८ प्रतिशत गुमाएका छन् ।