समाचार आइतबार, फागुन ११, २०७६

बाँस्कोटासँगै प्रधानमन्त्री ओली विरुद्ध पनि अख्तियारमा उजुरी

हिमालखबर

बाँस्कोटासँगै प्रधानमन्त्री ओली विरुद्ध पनि अख्तियारमा उजुरी

प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटालगायत चार जनाविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

प्रधानमन्त्री ओली, पूर्व मन्त्री बाँस्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो ।

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएकाले प्रधानमन्त्री पनि उक्त घटनामा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुने निवेदनमा उल्लेख गरिएको छ ।

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।

 

 

 

प्रतिकृया दिनुहोस