कृषि विकास बैंकको ५३औं वार्षिक उत्सव : ५ अर्बभन्दा बढी सहुलियतपूर्ण कृषि अनुदान
कृषि विकास बैंकले एक वर्षमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी सहूलियतपूर्ण कृषि अनुदानमा लगानी गरेको बताएको छ । स्थापनाको ५३औं वर्षमा प्रवेश गरेको अवसरमा अहिलेसम्मको प्रगति र आगामी योजनाबारे जानकारी दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले यस्तो कर्जाबाट २५ सयभन्दा बढी सर्वसाधारण लाभान्वित भएको बताए ।
‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ नीतिसहित अघि बढेको बैंकले गएको एक वर्षमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा ५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकले कृषिक्षेत्रमा बैंकको लगानी ४४ प्रतिशत रहेको जानकारी दिएको छ । आगामी दिनमा पनि कृषि क्षेत्रमा बैंकको लगानी बढाउँदै लैजाने योजना बनाएको र ग्रामीण तथा कृषि क्षेत्रको विकासका लागि सरल र सुलभ कृषि कर्जामा बैंक केन्द्रित छ हुने बैंकले जनाएको छ ।
बैंकले साना किसान विकास आयोजनामार्फत सामूहिक प्रणालीमा आवद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, बचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार, उक्त आयोजना समूहलाई नै सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउने प्रयास गर्दै आएको बताएको छ ।
बैंकले यो वर्ष समयमै वार्षिक साधारणसभा सम्पन्न गरी सेयरधनीहरूलाई ३० प्रतिशतको आकर्षक मुनाफासमेत वितरण गरेको छ ।
लामो समयसम्म आइटीको समस्या झेलेको बैंकमा अब यस्तो समस्या नरहेको बैंकले जनाएको छ ।