कांग्रेस बैठक एक सातालाई स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक एक सातालाई स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजे बोलाइएको बैठक १० पुससम्मका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
२६ मंसीरबाट जारी केन्द्रीय कार्य समिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बहिष्कार गर्दै आएका थिए । पौडेल र सिटौलाको बहिष्कारका बीच बस्दै आएको बैठक एक सातालाई स्थगित गरिएको छ ।
१४औं महाधिवेशनको प्रस्ताव बैठकको एजेण्डा नबनेको भन्दै कांग्रेस संस्थापन इतरका नेताहरुले बहिष्कार गर्दै आएका छन् । तर, सभापति शेरबहादुर देउवाले भने संघीयताअनुसार, संगठन निर्माण भइनसकेकाले महाधिवेशनको प्रस्ताव एजेण्डामा नराखिएको बताउँदै आएका छन् ।
पौडेल र सिटौलासँग सहमति जुट्न नसकेपछि सभापति देउवाले अगाडि बढाएको विभाग गठन तथा भातृ संस्था बारेको एजेण्डामा समेत निर्णय हुन सकेन । पार्टीभित्र सहमति जुटाउन समिति समेत गठन भएको थियो ।
तर, उपसभापति विमेन्द्र निधि र पूर्व महामन्त्री प्रकाशमान सिंह लगायत सम्मिलित समितिले समेत सहमति जुटाउन सकेन ।