स्याउ बेचेर ६० करोड बढी भित्र्यायो मुस्ताङले
मुस्ताङबाट यो वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बिक्रीबाट मुस्ताङमा साठी करोड बढी रकम भित्रिएको छ ।
मुस्ताङमा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले बताए ।
“जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ” उनले भने, “कृषक र व्यापारीबाट सङ्कलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।”
खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताए ।
उनका अनुसार गत वर्षको तुलनामा दश प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य रु १२० रहे पनि अधिकांश कृषकले बगैँचा नै ठेक्कामा बिक्री गरेका थिए ।
मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ ।
म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौँ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ ।
स्याउ बिक्रीबाट रु एक लाखदेखि तीन करोडसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताए ।
उनीसँग ५० फल दिने र एक हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पु¥याउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा दश गुणा बढी आम्दानी हुने उनले बताए ।
स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायत परिकार बनाएर विदेशमा समेत निकासी हुन थालेको छ । बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् ।