खेलकुद आइतबार, मंसिर १५, २०७६

सागः पारस खड्काले खेलाडीको तर्फबाट लिए शपथ

हिमालखबर

सागः पारस खड्काले खेलाडीको तर्फबाट लिए शपथ

काठमाडौँ, पोखरा र जनकपुरमा आइतबारदेखि शुरु भएको १३औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट पूर्व कप्तान पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिएका छन् ।

खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोके । समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आइतबार दशरथ रङ्गशालामा ल्याइएको थियो ।

कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी लगायतले गाए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो ।

लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।

प्रतिकृया दिनुहोस