बियरको उत्पादन एकै वर्षमा एक तिहाइ बढ्यो
एकै वर्षको अवधिमा बियरको उत्पादन ३३ दशमलव ६ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र ब्यांकले प्रकाशित गरेको आर्थिक गतिविधिको अध्ययन रिपोर्टका अनुसार, गत वर्ष २०७४/७५ मा नेपालमा ९ करोड ६६ लाख ११ हजार लिटर बियर उत्पादन भएको छ ।
जुन २०७३/७४ मा ७ करोड २२ लाख ९७ हजार लिटर मात्र थियो । नेपालमा बियर उद्योगको संख्या पछिल्ला वर्षहरुमा बढिरहेका छन् । बियर उत्पादन बढ्नुले बियर पारखीको संख्या बढिरहेको देखाउँछ ।
बियरको उत्पादन बढेपनि अन्य मदिराको उत्पादन भने घटेको छ । गत वर्ष ६५ लाख १५ हजार लिटर मदिरा मात्र उत्पादन भएको छ, जुन अघिल्लो आर्थिक वर्षका तुलनामा ८ दशमलव ५ प्रतिशत थोरै हो । आर्थिक वर्ष २०७३/७४ मा ७१ लाख १९ हजार लिटर मदिरा उत्पादन भएको थियो ।
राष्ट्र ब्यांकका अनुसार, बियर उद्योगहरुले कुल क्षमताको ८६ दशमलव ३ प्रतिशत उत्पादन गरिरहेका छन् । औद्योगिक क्षमताको सबैभन्दा धेरै उपयोग गर्नेमा पश्मिना उद्योगहरु छन् ।
पश्मिना उद्योगले कुल औद्योगिक क्षमताको ९९ दशमलव १ प्रतिशत उपयोग गरेका छन् । सिमेन्ट उद्योगले कुल क्षमताको ७४ दशमलव ६ प्रतिशत, चाउचाउ उद्योगले क्षमताको ७३ दशमलव ४ प्रतिशत उत्पादन गरिरहेको राष्ट्र ब्यांकको प्रतिवेदनमा उल्लेख छ ।
औद्योगिक क्षमताको सबैभन्दा कम उपयोग हुने उद्योगमा चामल उद्योगहरु छन् । चामल उद्योगको उत्पादन क्षमताको गत वर्ष १४ दशमलव ८ प्रतिशत मात्रै उपयोग भयो, भने कागज उद्योगहरुको क्षमताको ३८ दशमलव ५ प्रतिशत मात्रै उपयोग भयो ।
चामल व्यवसायीहरुले भारतबाट आयात गरिने चामलका तुलनामा धानको राजस्व दर धेरै भएकाले चामल उद्योगहरु धराशयी भएको बताउँदै आएका छन् ।
गत वर्ष सबैभन्दा धेरै साबुनको उत्पादन उत्पादन ५८ दशमलव ३ प्रतिशतले बढ्यो भने प्रशोधित छालाको उत्पादन ८९ दशमलव ७ प्रतिशतले घट्यो ।