भैरहवा विमानस्थल जी टू जी मोडलमा सञ्चालन गर्ने प्रस्ताव
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जी टु जी (दुई देशका सरकारबीचको सम्झौताअनुसार ) मोडलमा सञ्चालन गर्ने प्रस्ताव आएको छ। नागरिक उड्डयन प्राधिकरणले भैरहवा विमानस्थललाई उक्त मोडलमा सञ्चालन गर्नुपर्ने प्रस्ताव निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ।
महानिर्देशक सञ्जीव गौतमले प्राधिकरण स्थापनाको २० औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सरकारको शर्तमा राजी हुने देशलाई विमानस्थल सञ्चालनको जिम्मेवारी दिइने बताए। प्राधिकरणका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मन सरकारले चासो देखाएको छ। हाल नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन प्राधिकरण आफैंले गर्दै आएको छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले सेप्टेम्बर २०१९ भित्र उक्त विमानस्थल सञ्चालनमा आउने बताए। बदलिँदो समयअनुसार नेपालका उड्डयन पूर्वाधारको स्तरोन्नती गर्न सरकार लागिपरेको मन्त्री अधिकारीको भनाइ थियो।
१६ पुस २०५५ मा तत्कालीन हवाई विभागलाई सरकारले उड्डयन क्षेत्रको विकास र नियमन गर्ने गरी नागरिक उड्डयन प्राधिकरणमा स्तरोन्नती गरेको थियो। हाल प्राधिकरणले सबै ५० विमानस्थलको व्यवस्थापन गर्दै आएको छ।
कार्यक्रममा प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले हालसम्म ३१ विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको र चालु आर्थिक वर्षमा थप ५ विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने जानकारी दिए।