प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए। बैठकले विश्वासको मतका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरिने पनि निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले चैत ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत ६ दलको समर्थनमा दाहाल गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। यसअघि सरकारमा सहभागी एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
यससँगै कांग्रेस संसदीय दलको बेठकले सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका सांसद सत्तापक्षको लाइनमा बस्ने भएको प्रमुख सचेतक लेखकले बताए।
यसअघि आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको थियो। यससँगै प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न पनि संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।