गठबन्धन कार्यदलका सदस्य बालुवाटारमा
पाँच दलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
आजको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेलको खाका बनाउने लगायत विषयमा छलफल हुने भएको छ। बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ।
कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्षनेतालाई बुझाउनेछ। त्यसका आधारमा शीर्ष नेताले सीट बाँडफाँडाको निर्णय गर्नेछन्।
यसअघि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको थियो। कार्यदलमा कांग्रेसमा सिटौलासँगै महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ रहेका छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलका सदस्य छन्।