हामी टुलुटुलु हेर्नेवाला छैनौं: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कसैले सीट देला भनेर टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा सोमबार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताए। प्रतिगमन रोक्न, संविधान र संघीयता जोगाउन पाँच दलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको उनको भनाइ थियो।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलबीच सीटको बाँडफाँड भने सम्मानजनक हुनुपर्नेमा उनको जोड थियो। “अहिलेको गठबन्धन टुट्नेवाला छैन, आउने चुनावसम्म कायमै रहन्छ,” अध्यक्ष नेपालले भने, “तर, निर्वाचनमा जम्मै सीट जति आफू लिउँला, उब्रिएको मात्र दिउँला भनेर कुनै पार्टीविशेषले सोच्छ भने हामी टुलुटुलु हेर्नेवाला छैनौं। आफ्नो शक्तिमा भरोसा गरेर अघि बढ्नेछौं।”
कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजीविकाको झण्डालाई बुलन्द पार्न पुष्पलालका अनुयायीले उनीबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्ने उनको भनाइ थियो।
पुष्पलालले अवलम्बन गरेको बाटोमा कहिल्यै पनि खोट नभएको बताउँदै अध्यक्ष नेपालले उनकै विचारबाट निर्देशित कम्युनिष्ट पार्टीले जनतामा प्रभाव जमाउन, जनताको विश्वास जित्न सफल भएको र कम्युनिष्ट जनमत नेपालमा बलियो बनेको उल्लेख गरे।